News

झापामा पालना भएन निषेधाज्ञा,हिँडडुल र चहलपहल उस्तै

झापा । झापामा आजदेखि सुरु भएको निषेधाज्ञा सरोकारवालाले पालना गरेका छैनन् । शनिबार राति १२ बजेदेखि सुरु भएको निषेधाज्ञा कडा हुने भनिए पनि हलुका सवारीसाधन र पैदलयात्री आवतजावत गरेको पाइयो । कोरोना संक्रमण उच्च भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (लकडाउन) जारी गरे पनि लकडाउन निष्प्रभावी देखिएको छ । लकडाउनको समयमा पनि मानिसहरुको हिँडडुल र चहलपहलमा खासै कमी आउन सकेन ।

सडकमा निजी तथा सार्वजनिक सवारी सञ्चालन भइरहेको छ । मुख्यगरी बिर्तामोड क्षेत्रको पूर्वपश्चिम राजमार्गलगायत शनिश्चरेरेड, भद्रपुररोडमा सवारी आवागमन भइरहेको देखियो भने पैदलयात्री र साइकलयात्री पनि सडकमा भेटिए । बिर्तामोडका व्यवसायीहरुले पसल भने बन्द गरेका छन् तर खाद्यान्न बोकेको गाडी लेखेर खाद्यान्न ढुवानी गर्ने क्रम भने रोकिएको छैन । कतिपय निर्माण सामग्री बोकेको ट्रयाक्टर टिपर राजमार्गबाट भित्री सडकहरुमा पनि गुडेका स्थानीयले बताए । मानिसहरुको आवतवावत नरोकिएसम्म व्यापार-पसल बन्द गरेर मात्रै कोरोना रोकथाम नहुने व्यवसायीहरुको धारणा छ । प्रशासनले भने अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्किन रोक लगाएको छ ।त्यस्तै अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी र सार्वजनिक कार्यालयबाहेक अन्य कार्यालयहरू समेत सञ्चालन नगर्न निर्देशन दिइएको छ ।

खाद्यान्न लगायतका सबै पसलहरू बन्द गर्न प्रशासनले सुचित गरिसकेको छ । बैङ्क तथा वित्तीय संस्थामा माथिल्लो निकायबाट स्वीकृति लिएर न्यून कर्मचारी राखेर हप्तामा तीन दिन आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।सडकमा सवारी र मानिसको आवतजावत बढेपछि स्थानीय बासिन्दाले निषेधाज्ञा गर्दा कडा गर्न तथा झारो टार्नेजस्ता निषेधाज्ञा आह्वान नगर्नु नै राम्रो भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

Related Articles

Back to top button