HealthNews

८ लाख ४ हजार ५७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने

झापा  । हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत प्रदेश नम्बर १ का तीन जिल्लामा यही चैत २० गतेदेखि हात्तीपाइलेको औषधि खुवाउन लागिएको छ ।  ‘एक पटक औषधि खानु वरदान हो, नखाए सधैँको लागि अभिसाप हुन्छ, भन्दै झापा, मोरङ र ओखलढुङ्गामा हात्तीपाइलेको औषधि खुवाउन लागिएको हो ।
प्रदेश १ का चार जिल्लामा हात्तीपाइलेका बिरामी नरहेको र सात जिल्लामा निवारण भइसकेकोले यसबर्ष झापासहित तीन जिल्लामा हात्तीपाइलेको औषधि खुवाउन लागिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
नेपालका ६३ जिल्ला हात्तीपाइले रोगको जोखिम थियो, त्यसमध्ये ५१ जिल्लामा निवारण भइसकेको छ । अब यसबर्ष १२ वटा जिल्ला एकै पटक औषधि खुवाउने सरकारको कार्यक्रम रहेको फोकल पर्सन चम्लागाईले जानकारी दिए । नेपालमा सन् २०१९ मा निवारण १ दशमलव ४७ प्रतिशत रहेको उनले बताए ।
उनका अनुसार झापाका कूल ९ लाख ३३ हजार जनसङ्ख्यामध्ये ८ लाख ४ हजार ५७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ । हात्तीपाइले अन्य रोग जस्तो नभएको बताउँदै फोकल पर्सन चम्लागाईले भने, ‘यो रोग लागि सकेपछि औषधि वा उपचारको माध्यमबाट निको पार्न सकिँदैन, यो रोग लाग्न नदिन पहिला नै औषधि खानुपर्छ ।’
‘यो रोगले स्वास्थ्य मानिसलाई अपाङ्ग बनाउँछ, जुन बाचुन्जेल निको हुँदैन, उनले भने ।’ क्यान्सरभन्दा घातक रोग हात्तीपाइले भएकाले सबैले औषधि खानु पर्नेमा उनको भनाई । ‘हात्तीपाइलेले असक्त, असमर्थ तथा अपाङ्गता बनाउने र रोग लागेको व्यक्तिलाई सामाजिक तिरस्कार हुने भएकाले पनि औषधि सेवन गर्नुपर्ने छ, उनले भने । ‘
जिल्लामा औषधि खुवाउनका लागि ६ सय जना स्वास्थ्यकर्मी र ६ सय जना महिला स्वयंसेविका परिचालन गरिने छ ।  हात्तीपाइले रोग निवारण अभियान सफल बनाउन स्वास्थ्य कार्यालयले सम्पूर्ण तयारी पूरा गरिसकेको कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए  ।
उनका अनुसार चैत २० गतेदेखि चैत मसान्तसम्म जिल्लाका १५ वटै स्थानीय तहमा घरदैलो अभियान सञ्चालन गरिनेछ । चैत २० गते भद्रपुरबाट यस कार्यक्रमको शुभारम्भ हुनेछ ।  १० औं चरणको हात्तीपाइले औषधि वितरण अभियान भएको बताउँदै उनले भने, ‘सरकारले सन् २०२६ सम्ममा निवारण गर्ने उद्देश्य राखेको छ, यस वर्ष झापामा यो अन्तिम घरदैलो अभियान पनि हो ।’
झापामा आर्थिक वर्ष २०७६-०७७ मा ५ सय ५४ जना हात्तीपाइलेका रोगी भेटिएको स्वास्थ्य कार्यालय झापाका तथ्याङ्कमा उल्लेख छ । तीमध्ये हाइड्रोशील भएका ३७२ जना, हात र स्तन सुन्निएका ११० जना र खुट्टा सुन्निएका ७२ जना रहेको जनाइएको छ ।

Related Articles

Back to top button