
मेचीनगर, अपाङ्गमैत्री भवन नहुँदा मेचीनगर नगरपालिका कार्यालयमा अपाङ्गता भएका सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ ।
अपांग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरका अध्यक्ष राम बुढाथोकीले नगरका प्रमुख र उपप्रमुखको कार्यकक्ष भुइँतलामा राख्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “तत्काल भवन बनाउन नसके पनि भूर्इँतलासम्म हामी पुग्न सक्छौं, उहाँहरु तत्काल सबैको पहुँच पुग्ने स्थानमा सर्नुपर्छ ।”
नगरपालिका भवन तीन तलाको छ । भवनको दोस्रो तलामा नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको छ । उहाँले भवन पुनर्निमाण गरेर अपांगमैत्री बनाउन नसक्ने हो भने माथ्लो तलाबाट नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई भुइँतलामा स्थानान्तरण गर्न माग गर्नुभयो ।