२०८० जेष्ठ २२ सोमबार

समाचार लेखेको विषयमा पत्रकार निरौलालाई धम्क्याइएकोमा महासंघ र प्रेस क्लबकाे आपत्ति

झापा, वैशाख २७ । नेपाल पत्रकार महासंघ झापाले भद्रपुर ९ स्थीत पुहाँतु जनज्योति माविका शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कटुवालले समाचारको बिषयलाई लिएर पत्रकार ज्ञानेन्द्र निरौलालाई कारवाहीको धम्की दिएको बिषयमा नेपाल पत्रकार महासंघ झापा शाखाले आपत्ती जनाएको छ ।

महासंघका राष्ट्रिय परिषद सदस्य तथा सेतोपत्र डटकमका सम्पादक निरौलालाई अनलाइनमा प्रकाशित समाचारको बिषयलाई लिएर सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा पेशाप्रति हतोत्साहित बनाउने जस्ता प्रेस स्वतन्त्रता बिरोधी कार्य गरेको प्रति पत्रकार महासंघ झापाले आज प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

पुहाँतु जनज्योति माविका पाँच जना स्थायी शिक्षकलाई व्यवस्थापन समितिको निर्णय नमानेको भन्दै वैशाख ५ गतेदेखि विद्यालयमा हाजिर हुन नदिएको बिषयमा सेतोपत्र डटकमले समाचार प्रकाशित गरेको थियो ।

दुई मावि तह सहितका पाँच जना शिक्षकलाई हाजिर गराउने बिषयमा समन्वय गर्दा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले ५० लाख रकम दिनु पर्ने र माफी माग्नु पर्ने शर्त राख्नु भएको थियो । मिश्रले ५० लाख मागेको अडियो रेकर्ड सेतोपत्र डटकमले यस अघि नै सार्वजनिक गरिसकेको छ । त्यस्तै मिश्र बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको खबर पनि सेतोपत्र डटकमले प्रकाशित गरेको थियो । यहि बिषयमा बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कटुवालले सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकार तथा सञ्चारमाध्यमको नामनै किटान गरि कारवाहीको धम्की दिनुभएको थियो ।

कटुवालले सामाजिक सञ्जाल मार्फत धम्की दिनु प्रेस स्वतन्त्रता बिरोधी  र खेदजनक भएको महासंघ झापाको ठहर छ त्यस्तो कार्यमा संल्गन लाई कारवाहीको दायरामा ल्याउन महासंघ झापाले सरकार र स्थानिय तह समक्ष माग राखेको छ ।  महासंघ झापाका सचिव डिकेश लामाद्धारा जारी  विज्ञप्तीमा आगामी दिनमा यस्ता खाले गतिविधि नर्गन सम्बन्धित पक्षलाई सचेत समेत गराइएको छ ।
त्यसैगरी नलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस क्लब मेचीगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलालाई फेसबुकमार्फत कार्वाहीको धम्की दिइएको घटनाप्रति प्रेस क्लब मेचीनगरको गम्भिर ध्यानाकर्षण भएको छ ।

क्लबका सचिव देबु बानियाँले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे वा कुनै गुनासो रहे त्यस उपर कानूनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदा हुँदै सामाजिक सञ्जालमार्फत पत्रकार र सञ्चार माध्यमको नामै किटान गरेर धम्क्याउँदै हतोत्साहित बनाउने कार्य प्रेस स्वतन्त्रता विरोधी भएको क्लबको ठहर रहेको जनाइएको छ ।

क्लबले यस्ता कार्य आगामी दिनमा नदोहोर्याउन सचेत गराउँदै त्यस्तो कार्यमा संलग्नलाई कानूनी कार्वाहीको दायरामा ल्याउन माग गरेको छ ।

पुहाँतु माविका केही शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच विवाद रहेको छ । सोही विषयमा पत्रकार ज्ञानेन्द्र निरौलाले सेतोपत्र अनलाइनमा समाचार लेख्नु भएको थियो ।

समाचारप्रति आक्रोश व्यक्त गर्दै विद्यालयकै शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कटुवालले नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् तथा नेपाल प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष समेत रहेका पत्रकार निरौलालाई कार्वाही गरिनु पर्ने फेसबुकमा लेख्नु भएको थियो

२०८० बैशाख २७, बुधबार प्रकाशित 0 Minutes 384 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।