२०८० जेष्ठ २२ सोमबार

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनबाट मुलुकको पर्यटनमा टेवा पुग्ने : सभामुख घिमिरे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्कर्म नै सबैभन्दा ठूलो धर्म हुने र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनबाट मुलुकको पर्यटनमा टेवा पुग्ने बताएका छन् ।

गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नं. १ र २ को सीमास्थित पाउ पाथीभरा धाममा आयोजित सप्ताहव्यापी श्रीमद्भागवत महापुराणको आज एक समारोहबीच उद्घाटन गर्दै उनले पाथीभरा माताको मन्दिर कोशी प्रदेशको सांस्कृतिक पहिचान रहेको बताए।

ताप्लेजुङमा पाथीभरा माता, इलाममा सानी पाथीभरा माता र झापाको चारआलीमा पाउ पाथीभरा माताको मन्दिर रहेको उल्लेख गर्दै सभामुख घिमिरेले स्थापनाको आठ वर्षमै पाउ पाथीभरा माताप्रति धर्मानुरागीहरूले दर्शाएको आस्था र विश्वासले यस क्षेत्रकै विकासमा महत्त्वपूर्ण सघाउ पुगेको बताए।

महापुराणको आयोजनाले सत्कर्ममा लाग्न समस्त मानव समुदायलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सबै धर्मले मानव कल्याण र शान्तिकै सन्देश बोकेको हुँदा धार्मिक अनुष्ठानमार्फत समाजको उन्नति र जागरणमा योगदान पुग्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आम नागरिकमा वितृष्णा र नकारात्मक सोचाइको विकास भइरहेका कारण धार्मिक अनुष्ठानले जीवनप्रतिको आशा र सकारात्मक सोचको विकास गर्नुपर्ने बताए।

समाजमा आर्थिक विकास र शान्तिपूर्ण जीवनयापनको वातावरण भए पनि नागरिकमा वितृष्णा बढिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे । ताप्लेजुङमा प्रसिद्ध पाथीभरा देवीले भ्रमण गर्दा एउटा पाउ झापाको यही धाममा र अर्को पाउ भारतको आसामको गुवाहाटीस्थित प्रसिद्ध कामाक्षा मन्दिरमा परेको धार्मिक विश्वास रहेको पाउ पाथीभरा धामका अध्यक्ष तिलकप्रसाद गिरीले बताए।

धामको प्रचार-प्रसार गरी धार्मिक पर्यटन अभिवृद्धिको उद्देश्य राखेर हरेक वर्ष एउटा महापुराणको अनुष्ठान आयोजना भइरहेको उनले जानकारी दिए। यसपटक चैत ८ गतेदेखि सुरु भएको श्रीमद्भागवत चैत १६ गते समापन हुने बताइएको छ ।

२०७९ चैत्र ९, बिहीबार प्रकाशित 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।