२०७९ चैत्र १५ बुधबार

१२ करोड बढी ठग्ने तीनजना विराटनगरबाट पक्राउ

विराटनगर । सहकारीको आवरणमा बचतकर्ताको १२ करोड बढी रुपैयाँ ठगी गरेको आरोपमा तीन जना विराटनगरबाट पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका-२ मा सञ्चालित तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय बन्द गराएर सञ्चालकहरू नै फरार भएपछि बचतकर्ताहरूले आफूहरू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

कार्यक्षेत्र नेपाल भरी रहने गरी मिति २०५२ साल चैत १३ गते सहकारी विभागमा दर्ता नं. ४१७/०५२/०५३ मा दर्ता रहेको यस सहकारीको देशै भरी २१ हजार ७१३ सदस्य सङ्ख्या रहेका छन् । तीमध्ये चार हजार भन्दा बढी सदस्यहरू विराटनगरका रहेको खुलेको छ ।

फाल्गुन १ गतेदेखि उक्त सहकारी संस्थाको कार्यालय बिना जानकारी बन्द गरी सञ्चालन समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए ।

बचतकर्ताको रु १२ करोड नौ लाख रकम ठगी रहेको आरोपमा पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका –६ की अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका –१४ की सविना न्यौपाने र क्षेत्रीय विराटनगर–२ का मन्दीप खवासलाई सोमबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ । तस्बिरः मनोज दाहाल / रासस

विराटनगरमा मुख्य कार्यालय र झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा ३ वटा सेवा केन्द्र रहेको यस सहकारीका एक सय २१ सदस्यहरूले फाल्गुन २८ गते उक्त संस्थाका क्षेत्रीय प्रबन्धक सहित आठ जना पदाधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेर दिएका थिए ।

यस सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी रकम सङ्कलन गरेको थियो।

विराटनगर महानगरपालिका-२ मा सञ्चालित तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय भवन ।

जाहेरी परेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा संस्थाको उपाध्यक्ष मोरङको उर्लाबारी नगरपालिका-६ घर भएकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका-१४ घर भई विराटनगर महानगरपालिका-३ बस्ने सहकारी संस्थाको सचिव सविना न्यौपाने, सोही महानगरपालिका-२ संस्थाको क्षेत्रीय प्रबन्धकको रूपमा मन्दिप खवासलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

फरार रहेका अध्यक्षसहित अन्य ५ जना पदाधिकारीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीको हालसम्मको प्रारम्भिक अनुसन्धानबाट योजनाबद्ध तरिकाले ठुलो रकम हिनामिना गरी संस्थाका सदस्य एवं बचतकर्ताहरूलाई ठगी गरेको देखिन आएको छ ।

प्रहरीले यस सहकारी संस्थामा बचत गर्ने बचतकर्ताहरू/पीडितहरूले ५ दिन भित्रमा जिल्ला प्रहरी कार्यालय मोरङमा आई जाहेरी दरखास्त दिन समेत अनुरोध गरेको छ ।

२०७९ फाल्गुन ३०, मंगलवार प्रकाशित 1 Minute 30 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार