
झापा । झापाका मतदाताले पुराना धेरै अनुहारलाई पाखा लागाउँदै नयाँलाई सांसदमा रोजेका छन्। यसपटक प्रत्यक्षतर्फ १५ सांसदको सिटमध्ये १० जना नयाँ अनुहार आएका छन्। जिल्लामा प्रतिनिधिसभातर्फ दुई जना र प्रदेशसभातर्फ ८ जना नयाँ अनुहारका सांसद बनेका हुन्। त्यसमध्ये पाँच जना एमालेका, तीन जना कांग्रेस र राप्रपाका दुई छन्।
झापा १ बाट निर्वाचित तीनै जना नयाँ अनुहारका युवा हुन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पहिलो पटक संसद् भवन छिर्ने भएका छन्। दुई पटक पराजय भोगिसकेका शर्मा तेस्रो पटकमा संसद्को ढोका खुलाउन सफल भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २ सय ७५ मतान्तरले पराजित गरेका हुन्।
शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेका छन्। झापा १ (क) मा कांग्रेस नेता गोपाल तामाङ प्रदेश सांसद निर्वाचित भएका छन्। तामाङले एमाले नेता रविन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै सांसद बनेका हुन्।
यस पल्ट जिल्लामै पहिलो महिला सांसद राप्रपाकी सबिना बजगाईँ बनेकी छिन्। बजगाईँले माओवादी केन्द्रका श्यामवीर लिम्बुलाई एक हजार ३ सय ८७ मतान्तरले पराजित गर्दै प्रदेश सांसद बनेकी छिन्। बजगाईँले १३ हजार ६ सय १२ मत ल्याएकीमा लिम्बुले १२ हजार २ सय २५ मत प्राप्त गरेका छन्।
झापा २ मा एमालेका १ नम्बर प्रदेश इन्चार्ज देवराज घिमिरे पहिलो पटक निर्वाचित भएका छन्। घिमिरेले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल र माओवादीका हरि रानालाई पाखा लगाउँदै सांसद बनेका हुन्। घिमिरेले २८ हजार ७ सय १६ मत प्राप्त गरेका छन्। नेपालले २६ हजार ५५५ र राणाले १३ हजार ९३० मत ल्याएका छन्। झापा २ (ख) मा एमाले युवा नेता तिलचन पाठक (चिन्तन) प्रदेश सांसदमा निर्वाचित भएका छन्। पाठकले कांग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८ सय ४१ मतान्तरले पराजित गर्दै सांसद बनेका हुन्।
झापा ३ मा दुई पुराना अनुहारलाई पाखा लगाउँदै दुवै नयाँ अनुहार प्रदेश सांसदमा निर्वाचित भएका छन्। झापा ३ (क) कांग्रेसका भूमिप्रसाद राजवंशीले निवर्तमान प्रदेश सांसद एमालेका वसन्त बानियाँलाई एक हजार ६९ मतान्तरले पराजित गरेका छन्। ३ (ख) मा एमाले युवा नेता छविलाल चुँडालले निवर्तमान सांसद माओवादी केन्द्रका पूर्णसिंह राजवंशीलाई ६ हजार ४२ भारी मतान्तरले पराजित गर्दै सांसद बनेका छन्। झापा ४ (क) मा एमालेका राधाकृष्ण खनालले माओवादीका झलकबहादुर मगरलाई पराजित गर्दै प्रदेश सांसदमा निर्वाचित भएका छन्।
खनालले प्रदेश १ का पूर्व कृषिमन्त्री रहेका मगरलाई एक हजार ५ सय ७८ मतान्तरले पराजित गरेका हुन्। खनालले १३ हजार ९ सय ५१ मत ल्याएकोमा मगरले १२ हजार ३७३ मत प्राप्त गरेका छन्। ४ (ख) राप्रपाका केन्द्रीय प्रवक्ता भक्तिप्रसाद सिटौला प्रदेश सांसदमा निर्वाचित भएका छन्।
सिटौलाले कांग्रेसका एकराज उप्रेतीलाई ३ हजार ९ सय ७४ मतले पराजित गरेका हुन्। सिटौलाले १९ हजार ४५ मत ल्याएकोमा उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरेका छन्। त्यस्तै झापा ५ (ख) एमालेका होमबहादुर थापाले प्रदेश सांसदमा निर्वाचित भएका छन्। थापाले माओवादीका रेवतराज पुरीलाई ६ हजार ८ सय १४ मतान्तरले पराजित गरेका हुन्। थापाले २४ हजार १ सय २९ मत ल्याउँदा पुरीले १७ हजार ३१५ मत प्राप्त गरेका छन्।
यता पुराना अनुहारतर्फ झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन सङ्घीय सांसदमा दोस्रो पटक, झापा २ (क) बाट एकराज कार्की प्रदेश सांसदमा दोस्रो पटक, झापा ४ बाट लालबहादुर साँवा संघीय सांसदमा दोस्रो पटक, झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली छैटौं पटक र झापा ५ (क) बाट एमालेका हिक्मतकुमार कार्की प्रदेश सांसदमा दोस्रो पटक निर्वाचित भएका छन्।