२०७९ मंसिर १३ मंगलवार

विश्वप्रकाशले गरे दृष्टिविहिनदेखि जिउँदा सहिद,खेलाडी, चिया मजदुरलाई सम्मान

मेचीनगर, मंसिर ९ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि तत्कालै आफुले माला अविर लगाउनु भएन । वहाँले केही खास मतदाताहरुको सम्मान गरे पछि मात्रै आफुले माला र अविर लगाउनु भयो । झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पछि शर्मालाई अविर माला लगाइदिन वहाँको घर पुगेका समर्थक र पार्टी कार्यकर्ताहरु तेतिबेला छक्क परे जति बेला शर्माले त्यो माला र अविर लगाउन मान्नु भएन ।

शर्माका लागि तयार गरिएको झण्डै १५ किलोको माला लिएर पुगेका कार्यकर्तालाई शर्माले भन्नुभयो, ‘म माला लगाउँदिन, मलाई विजयी बनाउन मतदान गर्नु हुने मतदाताहरुलाई सम्मान गरे पछि मात्रै म माला र अविर लगाउँछु ।’

शर्माले आफ्ना लागि कार्यकर्ताले लिएर आएको माला वहाँकै छिमेकी मेचीनगर ९ स्थीत दृष्टी बिहिन ७० बर्षिया महिला दिलकुमारी राईलाई वहाँ घरमै पुगेर लगाइदिनु भयो । दृष्टी बिहिनलाई सम्मान गर्दै शर्माले भन्नुभयो, ‘मलाई मत दिएर जिताउनु भयो, अब आर्शिवाद दिनुहोस देश बनाउने काममा लाग्छु ।’ शर्माको सम्मान ग्रहण गर्दै दिलकुमारीले भन्नुभयो, ‘कसैले गालि नगरोस, सबैका लागि राम्रो काम गर्नु ।’

त्यसपछि शर्मा जनआन्दोलनका घाइते गोपाल श्रेष्ठको घर पुग्नु भयो । मेचीनगर ९ स्थीत जीउँदा शहिद श्रेष्ठकी आमा नरमाया श्रेष्ठलाई माला लगाएर सम्मान गर्नु भयो । घाईते गोपाललाई समेत शर्माले सम्मान गर्दै भन्नुभयो, ‘तपाईले गोली खाएर ल्याएको गणतन्त्रमार्फत देश विकासको खाका कोर्न संसदमा जाँदैछु मलाई आर्शिवाद दिनुहोस ।’ जनआन्दोलनका घाइते श्रेष्ठकी आमा नरमायाले शर्मालाई भन्नुभयो, ‘नराम्रो काम गरेको सुन्न नपरोस, देशलाई राम्ररी चलाउने हुनु ।’

नेपाली महिला क्रिकेट क्याप्टेन रुविनालाई सम्मान गर्दै शर्मा ।

केही समर्थक र सञ्चारकर्मी सहित शर्मा विहिबार बिहान काकरभिट्टा इटाभट्टा सडक खण्डको पुरानो भन्सारमा भक्का बनाएर बिक्रि गरिरहनु भएकी बिरला राजबंशीलाई सम्मान गर्न पुग्नु भयो । भक्का बनाइरहेको ठाउँमा अचानक शर्मा पुग्दा राजबंशी एकछिन त अलमलमा पर्नु भयो । शर्माले म तपाईलाई सम्मान गर्न आएको भन्नुभयो । ‘मलाई भोट दिएर जिताउनु भयो अब आर्शिवाद पनि दिनु,’ शर्माले राजबंशीसंग भन्नुभयो, ‘कति बर्ष भयो भक्का बेच्नु भएको ?’ जवाफमा राजबंशीले भन्नुभयो, ‘४० बर्ष भयो ।’ राजबंशीलाई माला र अविर लगाएर सम्मान गर्दै शर्माले राजबंशीले बनाएको भक्का पनि खानु भयो । त्यसपछि शर्मा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी क्याप्टेन रुविना क्षेत्रीको काकरभिट्टास्थीत घरमा पुग्नु भयो । रुविनालाई सम्मान गर्दै शर्माले भन्नुभयो, ‘तपाईहरु देशका लागि खेल्नु खेलाडीका बारेमा अब हामी सोच्नेछौं ।’

क्रिकेट खेलाडी रुविनालाई सम्मान गरेपछि शर्मा मेचीनगर ८ स्थीत टोकला चिया बगानमा पुग्नु भयो । बगानमा काम गरिरहेका चिया मजदुरहरुलाई सामुहिक सम्मान गर्दै शर्माले भन्नुभयो, ‘तपाईहरुले भोट दिएर मलाई जिताउनु भयो अब म तपाइहरुका लागि काम गर्छु ।’ सम्मान गर्न पुग्नु भएका शर्मालाई चिया मजदुरहरुले न्यून ज्याला लगायत अन्य समस्या सुनाएका थिए ।

४० बर्षदेखि सडकमा भक्का बेचिरहेकी राजबंशीलाई सम्मान गर्दै शर्मा ।

चिया बगान पछि शर्मा धुलाबारीस्थीत नेपाली काँग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा पुगेर मंसिर ४ मा पहिलो पटक मतदान गर्ने युवाहरुलाई सम्मान गर्नु भयो । त्यस अवसरमा युवाको चाहान बमोजिम आफुले काम गर्ने शर्माले प्रतिबद्धता जनाउनु भयो ।

यी सबै काम सके पछि मात्रै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शर्माले विजयको उत्सवका लागि आयोजना गरिएको र्यालीमा सहभागि हुनु भयो । मतदाता सम्मान र्लाली नाम दिएको उक्त र्यालीले हिजो प्रदेशसभा १ तर्फको अधिकाशं भुभाग परिक्रमा गरेको थियो भने शुक्रबार प्रदेशसभा २ तर्फको क्षेत्र परिक्रमा गर्ने नेपाली काँग्रेसले जनाएको छ ।

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित 0 Minutes 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार