मेचीनगर । मेचीनगर-६ स्थित महेन्द्रद्वार सहकारी संस्थाले व्यावसायिक रुपमा जडिबुटी खेती सुरु गरेको छ ।
वन मन्त्रालय, डिभिजन वन कार्यालयर र सहकारीको साझेदारीमा किसानकै सहभागितामा खेती गरिएको हो । खेती गर्दा लाग्ने किसान लागत सहकारी संस्थाले नै बेहोर्ने र उत्पादित कच्चा पदार्थ (वनस्पति) सहकारीले नै खरिद गर्ने योजना रहेको सहकारीका अध्यक्ष राजु दाहालले बताए ।
सहकारी संस्थाले मेचीनगर-४ स्थित दशगजा क्षेत्रमा २५ विगाहा क्षेत्रमा जडिबुटी खेती सुरु गरेको हो । सहकारीले सोमवार औपचारिक कार्यक्रम आयोजना गरेर जडिबुटी खेती सुरु गरेको जानकारी दिएको छ ।
सहकारी संस्थाका अध्यक्ष राजु दाहालको सभापतित्व तथा मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्कीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीले सदस्य तथा किसानको जीवनस्तर उकास्ने कार्यक्रम ल्याएकोमा सहकारीको सिंगो टिमको प्रशंसा गरे ।
कार्यक्रमका विषेश अतिथि मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले सदस्य तथा किसानको जीवनस्तर उकास्ने सहकारी भरपर्दो माध्यम भएको बताए ।
तीन वर्षदेखि औषधिजन्य पदार्थको प्रशोधन समेत सुरु गरेको सहकारीले व्यावसायिक रुपमा जडिबुटी खेती सञ्चालन गरेको सहकारी संस्थाका अध्यक्ष राजु दाहालले बताए । ‘स्थानीय कृषकको २५ विगाह जमिन लिएर किसानकै सहभागितामा खेती सुरु गरेका हौँ,’ अध्यक्ष दाहालले भने ।
उनले आगामी दिनमा झापाको उत्तरी हात्ती प्रभावित क्षेत्र पाटापुरदेखि मेचीनगर-६ स्थित घारी रेष्टुरेन्टसम्मको ५ सय विगाहा दशगजा क्षेत्रको जमिनमा खेती गर्ने लक्ष्य रहेको बताए । सहकारीले सिटोलेना र लेवनग्रास प्रजातिका बिरुवा रोपण सुरु गरेको उनको भनाइ छ ।
कार्यक्रको औचित्य माथि सहकारी संस्थाका कुन्दन निरौलाले प्रकाश पारेका थिए भने सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए