
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नाम झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएको छ ।
हल्दिबारी गाउँपालिका २ गोलधाप घर भएका राप्रपा अध्यक्ष लिङ्देन चौथो पटक झापा ३ बाट उठ्न लागेको हो । २०५६ सालको संसदीय निर्वाचनमा राप्रपाबाट लिङ्देन पहिलो पटक उठेका थिए । उनी त्यस बेला तेस्रो भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लिङ्देन उठेनन् ।
राप्रपाले उनको ठाउँमा गोपालबहादुर घिमिरेलाई उम्मेदवार बनेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पुनः राप्रपाबाट उठेका लिङ्देन नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भए । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङ्देनले काँग्रेस नेता सिटौलालाई पराजित गर्दै पहिलो पटक संसद्मा पुग्न सफल भए । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनसँग राप्रपाले चुनावी तालमेल गरेका थिए ।
अब आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा लिङ्देन पुन उठ्न लागेको छ । काँग्रेसबाट सिटौलाको नाम सर्वसम्मतले सिफारिस भएको छ । यस पल्टको निर्वाचनमा राप्रपा र एमालेबीच चुनावी तालमेल हुने बारेमा छलफल जारी छ । एमालेले सोमबार मात्र यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यतर्फ दुर्गा प्रसाईँ, मोहनचन्द्र रेग्मी, हरिप्रसाद घिमिरे, लोकनाथ भट्टराई र गंगा भुर्तेलको नाम सिफारिस गरिसकेको छ ।
त्यस्तै राप्रपाले झापा ३ (क) प्रदेशसभा सदस्यतर्फ नवराज पनेरु, राजकुमार राई र (ख) प्रदेशसभा सदस्यतर्फ रामकुमार राजवंशी, जीवन पनेरुको नाम सिफारिस गरेको छ । त्यसैगरी राप्रपाले झापा क्षेत्र नम्बर १ मा रमेश दाहाल र पुष्कर खतिवडाको नाम सिफारिस गरेको छ । झापा १ (क) प्रदेशसभा सदस्यतर्फ कल्याण खडका र (ख) मा सबिना बजगाईँको नाम सिफारिस गरेको छ । झापा क्षेत्र नम्बर २ मा भक्ति सिटौला, वसन्त रिमाल र शारदा रिजालको नाम सिफारिस गरेको छ । झापा २ (क) प्रदेशसभा सदस्यतर्फ शंकर रिजाल, दीपक मास्के रन्जु प्याकुरेल र (ख) मा राजकुमार चौहान, लोकेश भट्टराईको नाम सिफारिस गरेको छ । झापा क्षेत्र नम्बर ४ मा खुश्वु ओलीको नाम एकल सिफारिस गरेको छ ।
झापा ४ (क) प्रदेशसभा सदस्यतर्फ रुद्र भट्टराई, कुमार श्रेष्ठ र (ख) मा श्याम ओलीको नाम सिफारिस भएको राप्रपाका झापाका अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए । झापा क्षेत्र नम्बर ५ मा अहिलेसम्म उम्मेदवारको नाम सिफारिस गरिएको छ । त्यहाँ बुधवार उम्मेदवार सिफारिस गरिने अध्यक्ष ओझाले बताए ।