२०७९ मंसिर १३ मंगलवार

भारतीय गाडीलाइ नेपालमा ‘सुविधा ’ भारतमा नेपालीलाइ दुबिधा

फाइल फोटो ।

मेचीनगर, ९ असोज । भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारी साधनले नेपालसँगको सीमा नाघेर धुलावारी बजारसम्म आउन ‘सुविधा पास’ पाउने भएका छन् ।

दुई वर्ष अघि (कोरोना महामारी सुरु भएयता)देखि पूर्वी नाका काँकरभिट्टाबाट भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन ।

सुविधा भन्नाले न्यून शुल्क बुझाएर ती सवारी साधनले २४ घण्टासम्मका लागि सीमाबाट नजिकको बजारसम्म आवतजावत गर्न पाउने अवसर हो ।

मेची भन्सार कार्यालयले आइतवार प्रकाशित गरेको सार्वजनिक सूचनामा सोमवार (असोज १० गते)देखि सीमाबाट नजिकको बजार धुलाबारीसम्म भारतीय निजी प्रयोजनका सवारी साधनहरु जीप, कार र मोटरसाइकल आदिलाई सुविधा पास उपलब्ध गराइने उल्लेख छ ।

त्यस्तो सुविधा विहान ८ बजेदेखि वेलुका ५ बजेसम्म भारतीय गाडीहरुले पाउनेछन् । यसअघि सीमावर्ती बजारसम्म आउजाउ गर्नका लागि भारतीय निजी प्रयोजनका सवारी साधनले पनि दैनिक पाँच सय रुपैयाँ तिरेपछि अस्थायी अनुमति पत्र पाउने गरेका थिए ।

मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले आफुहरुको विशेष पहलपछि भारतीय सवारी साधनले सीमावर्ती बजारसम्म आउन जान पाउने सुविधा पाएको बताए ।

‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो,’ मेची भन्सार एजेन्ट संघका अध्यक्ष समेत रहेका निरौलाले भने–‘सुस्ताउँदै गएको हाम्रो सीमावर्ती काँकरभिट्टा, इटाभट्टा र धुलावारीमा भारतीय पर्यटक र व्यवसायीहरुको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौं ।’

सीमावर्ती धुलावारी बजारसम्म भारतीय सवारी साधनलाई सुविधा पास उपलब्ध गराउन माग गर्दै आइतवार मेची उद्योग वाणिज्य संघले मेची भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

व्यवसायीहरुको माग बमोजिम सवारी पास खुकुलो बनाउन मेची भन्सार सहमत भएको थियो । यो सुविधा मालवाहक र यात्रुवाहक भाडाको गाडीले पाउने छैनन् ।

२०७९ आश्विन ९, आईतवार प्रकाशित 0 Minutes 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार