२०७९ आश्विन १६ आईतवार

मेची भन्सारको सेटिङमा यति ठुलो अवैध धन्दा ! दुई ट्रक नियन्त्रणमा, विभाग पठाइयो


झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको दुई वटा फुलबडी ट्रक सशस्त्र प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको संयुक्त टोलीले लत्ताकपडासहित अन्य सरसामान लोड भएको ट्रक नियन्त्रणमा लिएको हो।
राजश्व अनुसन्धान विभागको आदेशपछि सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय सुनसरीलाई निर्देशन दिएपछि झापाको टोलीले मंगलवार राति साढे ८ बजे बिर्तामोड(५ स्थित पाथीभरा टोल नजिकै सटर भएको खाली गोदाममा सरसामान अनलोड गरिरहेको अवस्थामा ना४ख २०८५ र प्र(१०१(००१(ख ३५७७ नम्बरको फुलबडी दुई वटा ट्रक नियन्त्रणमा लिएको हो।
हेड क्वाटरको आदेशमा दुई वटा ट्रक नियन्त्रणमा लिएको बताउँदै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय सुनसरीका डीआइजी कमल गिरीले भने, ‘सामानसहित भन्सार तिरेको प्रज्ञापन पत्र चालकसँग भेटियो, माथिबाटै निर्देशन आएकाले नियन्त्रणमा लिएको दुई वटै ट्रक राजश्व अनुसन्धान विभाग पठाइसकेका छौं।’
‘सशस्त्रले नियन्त्रणमा मात्र लियो, ट्रकसहितको सरसामानको थप अनुसन्धान राजश्व अनुसन्धान विभागले गर्छ, अहिले अरू केही भन्न मिल्दैन,’ उनले भने। ट्रक र ट्रकमा भएको सामान कसको हो भन्नेबारे उनले खुलाउन चाहेन।
यता कर्मचारी स्रोतका अनुसार मेची भन्सार कार्यालयमा कर्मचारीको सेटिङमा व्यापक राजश्व चुहावट भई ट्रकका ट्रक सरसामान गइरहेको सूचना राजश्व अनुसन्धान विभागमा प्राप्त भयो। विभागले तत्काल यसतर्फ एक्सन लियो। विभागले ७ देखि १० वटा ट्रकले राजश्व छलेको सूचना पायो।
सोमबार मेची भन्सार कार्यालयबाट निस्किएको ५ वटा ट्रकमध्ये तीन वटा ट्रक सशस्त्र प्रहरीले मधेस प्रदेशबाट नियन्त्रणमा लिएको छ।
दुई वटा ट्रकको खोजी जारी छ। मङ्गलवार बेलुका साढे ७ बजे मेची भन्सारबाट निस्किएको दुई वटा ट्रक पनि त्यही सूचनाको आधारमा सशस्त्रले नियन्त्रणमा लिएको स्रोतको भनाइ छ। हेट क्वाटरबाट आदेश आएसँगै दिउँसो देखि नै मेची भन्सार आसपास सादा पोसाकमा सशस्त्र परिचालन गरिएको थियो।

ट्रक निस्किएपछि बाटोमा कतै रोक्ने आधार सशस्त्रलाई भएन। अदालतको आदेशपछि जोर सिमल चेकपोस्ट नहुँदा सशस्त्रलाई थप समस्या नै भयो। त्यसपछि सशस्त्रले ट्रकमाथि निगरानी राखेर बिर्तामोडमा सरसामान झार्दै गरेको अवस्थामा नियन्त्रणमा लियो।
स्रोतले भन्यो, ‘चालकसँग प्रज्ञापन पत्र भेटियो, दुई वटा ट्रकको एउटै प्रज्ञापन पत्र, एउटै एजेन्टले बनाएको रहेछ।’ ‘ट्रकको सामान अनुसार प्रज्ञापन पत्र हेर्दा २० प्रतिशत पनि राजश्व तिरेको देखिँदैन, यसमा ठुलो राजश्व चुहावट भएको आशंका गरिएको छ,’ उनले थपे ।
मेची भन्सारका कर्मचारी र एजेन्टको सेटिङमा हुने राजश्व चुहावटको घटना यो मात्र नभई यसभन्दा अघि पनि यस्ता घटना घटिसकेको छ।

 

२०७९ भाद्र २, बिहीबार प्रकाशित 1 Minute 975 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।