

भद्रपुर । सरकारको स्वामित्वमा रहेको भद्रपुर–८ स्थित नेपाल खानेपानी संस्थान भद्रपुरले उपभोक्तालाई दूषित खानेपानी वितरण गरिरहेको छ । संस्थानले अग्रिम कुनै पनि सूचना प्रवाह नगरी पटक–पटक दूषित खानेपानी वितरण गरेर नगरका उपभोक्ताहरूको स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ ।
संस्थानले वितरण गर्दै आइरहेको खानेपानीको धाराबाट फोहोर तथा माटो मिसाएको धमिलो पानी पिउन यहाँका उपभोक्ता बाध्य हुनु परेको छ । फोहोर तथा धमिलो खानेपानी वितरणको बारेमा संस्थाका कर्मचारीलाई पटक–पटक जानकारी गराउँदा समेत उनीहरूले त्यसप्रति गम्भीर नभएको उपभोक्ताहरूको गुनासो समेत छ ।
संस्थानले पूर्व सूचनाबिनै सोमबार दिउँसो पानी वितरण बन्द गरेको थियो । संस्थानको आधिकारी फेसबुक पेजमा पनि कुनै सूचना हालेको देखिएन । बेलुका धारामा पानी आउँदा फोहोर तथा धमिलो पानी आएपछि यस बारेमा उपभोक्ताहरूले सामाजिक सञ्जाल फेसबुकमा भाँडोमा पानी राखेर चर्को विरोध जनाइरहेको छ । संस्थानले बिहान, दिउँसो र बेलुका गरी तीन पटक पानी दिँदै आएको छ ।
फेसबुक प्रयोगकर्ता डेन्जर सन्तोषी पोखरेलले स्ट्याटसमा लेख्छन्, हाम्रो आदरणीयहरूमा मेरो अनुरोध । हाम्रो स्वस्थमा किन यति ठुलो खेल । कहिले काहीँ पो हुन्छ गल्ती । हरेक चीज विषादीयुक्त खानु परेको छ । कमसेकम पानी त स्वस्थ पिउन पाउँ । बिना जानकारी पानी किन फोहोर आउँछ रु जवाफ पाउँ । त्यस्तै अर्को फेसबुक प्रयोगकर्ता अरूप घोषले भद्रपुर खानेपानी संस्थानको लापरबाही भन्दै फोहोर पानीको भिडियो हालेको छ । त्यस्तै राजन पौडेल फेसबुकमा लेख्छन्, आवाज र सहयोग कसले गर्ने रु यस्तै पानी हो भने छोटे महाराजहरू र बहुमत प्राप्त र खानेपानी अफिसको काम अव छैन है ।
उनीहरू जस्तै अरूले फेसबुक प्रयोगकर्ताहरूले पनि खानेपानी संस्थानको लापरबाही बढेको भन्दै आक्रोश व्यक्त गरेका छन् । महिना दिनअघि त धाराको पानी लेदो नै आएको स्थानीय रोहित यादवले बताए । ‘कसलाई कहाँ भन्नु पर्ने हो, भन्दा पनि कुनै सम्बन्धित निकायले वास्ता गर्दैन,’ उनले भने ।
भद्रपुरका एक चिकित्सक भन्छन्, ‘नगरका धेरै मानिस स्वच्छ र सफा खानेपानी पिउन नपाउँदा धेरै रोगबाट लड्नु परेको छ ।’ ‘अस्पताल चेकजाँचमा आउने अधिकांश बिरामीमा खानेपानीको समस्या पाएको छु,’ खानेपानीको कारण जटिल रोगहरू लाग्छ, उनले भने । यता दूषित पानीको बारेमा खानेपानी संस्थानका प्रमुख सन्तोष रौनियारसँग बुझ्न खोज्दा उनले भने, ‘अहिले आफू व्यस्त छु, पछि कुरा गर्छु भन्दै फोन राखिदिनुभयो ।’