
झापा, साउन २० । अभिषेक दवाडी
आगलागीबाट बिचल्लीमा परेकी मेचीनगरपालिका-१४, निवासी लख्खि मर्डीले घर पाएकी छिन । मानवीय सेवामा समर्पित मेची अभियानको पहलमा उक्त घर र्निर्माण गरि हस्तान्तरण गरिएको हो । अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितमा उक्त घर हस्तान्तरण गरिएको हो ।
विगत १० वर्ष अघि श्रीमानले घर छोडेपछि दुई छोराको पालनपोषण गर्दै आएकी मर्डीको घरमा गत माघ १४ गते आगलागीको कारण घरसँगै अन्नपात समेत जलेको थियो । मर्डी स्थानीय चिया वगानमा मजदुरी गर्दै आएकी छन् ।
मजदुरी गरी जिविकोपार्जन गर्दै आएकी उनी घर विहीन बनेसँगै मेची अभियान काँकडभिट्टाले घर निर्माण कार्यक्रम सुरु गरी आज हस्तान्तरण गरेको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।
मर्डीको घर निर्माणमा महामन्त्री शर्माले आफै पुगेर श्रमदान समेत गरेका हुन । महामन्त्री शर्मा र उनकी श्रीमती कविता शर्माले घर निर्माणका लागि ११ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेका थिए ।
घर निर्माणमा देश तथा विदेशबाट समेत विभिन्न व्यक्तिले सहयोग गरेको अभियानका संयोजक डालमियाले बताए । डालमियाका अनुसार घर निर्माणमा ४ लाख १७ हजार ६३९ रुपैयाँ खर्च भएको छ ।
घर जलेसँगै मर्डी भाटाले बारेर बनाएको भान्सा घरमा बस्दै आएकी थिइन् । अभियानले घर निर्माण गरी हस्तान्तरण गर्दा उनी भावविहोल बनेकी थिइन् र सहयोग सबैलाई धन्यवाद ब्यक्त गरेकी छिन ।
कार्यक्रममा बोल्दै महामन्त्री शर्माले सबैको पहलबाट मर्डीको घर निर्माण सम्पन्न भएको बताए । मेची अभियानले मेचीनगर कै केवल निरौलाको घर निर्माणसमेत सुरु गरिएको जानकारी दिए । निरौलाको घर पनि आगलागीबाट जलेर नष्ट भएको थियो ।
मानवीय सेवामा समर्पित मेची अभियानले विगत केही वर्षदेखि निरन्तर, सामाजिक काममा अगाडी बढि रहेको छ।