२०७९ भाद्र १ बुधबार

१०० नेपाली विद्यार्थीहरूलाई आसम डाउन टाउन युनिभर्सिटीले पूर्ण छात्रवृत्ति दिने

बिर्तामोड । भारतको आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि यो वर्ष विद्यार्थी भर्नामा पाँच करोड भारुको छात्रवृत्रि उपलब्ध गराउने घोषणा गरेको छ ।

युनिभर्सिटीका नेपाल कोअर्डिनेटर एवम् नेपाल साझेदार संस्था लक्ष्मी एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक शंकर भट्टराईले मंगलवार बिर्तामोडको तामा होटलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिए ।

‘यति ठूलो स्कलरसीप योजना पहिलोपल्ट नेपाली विद्यार्थीका लागि आएको छ,’ भट्टराईले भने, ‘गुणस्तरीय शिक्षा आर्जन गर्न चाहने नेपालीहरुका लागि यसबाट फाइदा लिन हामी अनुरोध गर्दछौँ ।’ प्लस टु, डिप्लोमा, स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहका विद्यार्थीले यो छात्रवृत्तिमा पढ्न पाउने उनले बताए । कम्तीमा एक सय जना विद्यार्थीले यो छात्रवृत्रिबाट लाभ पाउने बताइएको छ ।

छात्रवृत्ति पाउनका लागि यही साउन ११ गतेभित्र अनलाइनमा उपलब्ध निःशुल्क आवेदन भरेर युनिभर्सिटीमा पठाउनु पर्ने र साउन १३ गते हुने अनलाइन कमन टेस्टमा सहभागी बन्नु पर्ने भट्टराईले जानकारी दिए ।

टेस्टको प्राप्तांकका आधारमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम सार्वजनिक गरिने र फस्ट कम फस्ट सर्भिसको आधारमा भर्ना लिइने उनको भनाई छ । स्नातक तहको कुनै पनि फ्याकल्टीमा एउटा लेभल पढ्नका लागि पाँचदेखि ७ लाख भारु लाग्नेमा यो स्कलरसीप पाएमा कुनै पढाइ शुल्क नलाग्ने उनले बताए ।

शतप्रतिशत छात्रवृत्ति पाउनेले कुनै पढाई शुल्क बुझाउनु नपर्ने भए तापनि पचास प्रतिशत मात्र छात्रवृत्ति पाउनेले पढाई शुल्कको आधा रकम बुझाउनु पर्नेछ ।

स्कलरसीपको अवसर पाउने विद्यार्थीहरुले धरौटी शुल्क वापत दश हजार भारु र प्रोसेसिङ शुल्क वापत दश हजार भारु बुझाउनु पर्ने बताइएको छ । धरौटी शुल्क तह उत्तीणर् भए पश्चात फिर्ता हुने व्यवस्था छ । तर, स्कलरसीपको आवेदन बुझाउँदा र टेस्टमा सहभागी हुँदा कुनै शुल्क नलाग्ने उनले बताए ।

विद्यार्थीको होस्टेल शुल्क भने स्कलरसीपमा समावेश छैन । विद्यार्थीले युनिभर्सिटीको होस्टेल वा पेइङ गेस्ट (पीजी) शुल्क आफै तिर्नुपर्ने छ । नेपालकै जस्तो हावापानी, भूगोल र संस्कृति भएको आसामको राजधानी गुवाहाटीमा यो युनिभर्सिटी रहेको छ । सन् २०१० मा वरिष्ठ डा. एनएन दत्ताले च्यारिटी ट्रस्ट स्थापना गरी युनिभर्सिटी सञ्चालन गरेका हुन् ।

आठ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत् यो शिक्षण प्रतिष्ठान पूर्वोत्तर भारतको सबैभन्दा ठूलो विश्वविद्यालय हो । जहाँ भारत, भूटान, बंगलादेश लगायतका मुलुकबाट पढ्नका लागि विद्यार्थी आउने गर्छन् । हालसम्म ५०० भन्दा बढी विद्यार्थीले त्यहाँ अध्यययन पूरा गरिसकेको बताइएको छ ।

दुई सय पचास फ्याकल्टीमा ६० वटा प्रोग्राम सञ्चालन भइरहेको युनिभर्सिटीमा एसईईपछिको मेडिकल साइन्ससँग सम्बन्धित तीन वर्षे डिप्लोमा, प्लस टुपछिको मेडिकल (पारामेडिकल, नर्सिङ, फार्मेसी आदि), इन्जिनियरिङ, आईटी, मानविकी, वाणिज्य लगायतका विषयमा विद्यावारिधी तहसम्मको पठनपाठन हुँदै आएको छ ।

‘नेपालबाट आउजाउ गर्न समेत काठमाडौँ जत्तिकै नजिक (५०० किमि) भएको हुँदा आसाम डाउन टाउन युनिभर्सिटी नेपाली विद्यार्थीको रोजाइ बन्ने गरेको छ,’ भट्टराईले भने, ‘गुवाहाटीमा नेपाली भाषी समुदायको बाक्लो बसोबास र अन्तरघुलन छ । जसका कारण त्यहाँ नेपालीले आफ्नै देशको जस्तो सामाजिक तथा सुरक्षित वातावरणको अनुभूति गर्न पाउँछन् ।’

आसाम डाउन टाउन युनिभर्सिटीमा अध्ययन गर्नेहरुले नेपालको त्रिभुवन विश्वविद्यालय र सीटीइभीटीबाट समकक्षता प्राप्त गर्ने उनको भनाई छ ।

स्थापनाकालदेखि नै नेपाल पार्टनरको रुपमा लक्ष्मी एजुकेसनले युनिभर्सिटीसँग सहकार्य गर्दै आएको जनाउँदै भट्टराईले विद्यार्थीलाई लैजाने मात्र नभएर उनीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गरेर रोजगारमा पहुँच दिलाउने र सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको बताए ।

नेपालमा पछिल्लो महाभूकम्पका बेला ४० जना विद्यार्थीलाई निःशुल्क रुपमा युनिभर्सिटीमा अध्ययनको अवसर दिलाएको र सन् २०१७ मा काठमाडौंमा रोजगार मेलाको आयोजना गरी ३५० भन्दा बढीलाई रोजगार दिलाएको उनले जानकारी  https://adtu.in/scholarship/ बाट विद्यार्थीहरूले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।

२०७९ श्रावण ४, बुधबार प्रकाशित 1 Minute 32 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार