२०७९ चैत्र १६ बिहीबार

मिटर ब्याजी र जुवाडेलाई झापा प्रहरीकै संरक्षण

झापा । झापाको दमकलाई बेस बनाएर जुवा खेलाउने र चर्को मिटर ब्याजमा पैसा लगाउनेहरूलाई प्रशासनकै संरक्षण रहेको रहस्य बाहिर आएको छ ।

जुवा खेलाउने समूहले आफै उक्साउने र महँगो मिटर ब्याजमा पैसा लगानी गरी चेक काट्न लगाएर चेक बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि मानिसलाई अपहरण कुटपिट समेत गर्ने गरेको पाइएको हो । सो कार्यमा प्रहरीले समेत सहयोग गर्ने गरेको पीडितका परिवारले बताएका छन् ।

झापा गाउँपालिका–३ सिमलवासीका ४० वर्षीय अशोक राईको अहिले जुवाले सर्वस्व गुम्नुका साथै ज्यानै जोखिममा परेपछि प्रशासनबाट समेत असुरक्षित भएको भन्दै पत्रकार सम्मेलन गरेपछि जुवा खेलाउने र मिटर ब्याजीलाई प्रहरीकै संरक्षण रहेको रहस्य खुलेको हो ।

आफूले लिएको पैसाका मिटरब्याजीहरुले अनेक हत्कण्डा अपनाएर उनलाई घर न घाटको बनाउनुका साथै ज्यानै जोखिममा परेको उनकी श्रीमती र बाबुले बताए । सोही क्रममा चेक बाउन्सको मुद्दा लिएर प्रहरी र बाउन्स गराउने समूह नै राईलाई पक्रन पुगेपछि गाउँलेसँग झडप भयो । गाउँलेको टोलीले प्रतिकार गर्दा सो समूह भागेको स्थानीय प्रत्यक्षदर्शीले बताए । त्यसपछि मात्र राईका परिवारले जुवा र मिटर व्याज काण्ड थाहा पाएपछि क्रमशः जुवाडेका नाम सार्वजनिक हुँदै गएका छन् ।

केही दिन अघि पीडित राईलाई दमकको एक होटेलमा मरणासन्न हुने गरी कुटपिट समेत गरेको उनले बताए । एउटा चेक बनाउन लगाए, “मरणासन्न हुने गरी कुट्यो, कानको जाली फुटेर बीएण्डसीमा उपचार गराएँ, धरानमा पनि एक साता बसे’, राईले भने, ‘दमकको घरजग्गा, सुरुङ्गाको भिटासँगै भएभरको सम्पत्ति बुझाउँदा पनि मिटर ब्याजका हिसाबले ४ लाखको ६ लाख बुझाउँदा पनि प्रहरी प्रशासन समेतको संरक्षणमा मिटरब्याजीहरुले लखेटिरहे, अहिले ज्यान नै जोखिममा परेको छ, उनले भने ।

पक्राउ गर्न आउने दमक–५ का विशाल पौडेल गाउँलेले प्रतिकार गर्दा सामान्य घाइते समेत बनेका छन् । सिभिलमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक भीम श्रेष्ठ नेतृत्वको टोली र रकम लिने समूह शनिवार बिहान राईको घरमा बिहान ४ बजेको समयमा पुगी जबरजस्ती राईलाई धकेल्दै गाडीमा लैजान खोजेपछि घर परिवार र स्थानीयवासीले प्रतिकार गरेको राईका पिता दीपक राईले बताए ।

दमकका नामुक जुवा घरका सञ्चालक समेत रहेका पूर्णप्रसाद रिजालले आफूलाई घरमा जुवा खेल्न बोलाई केही पैसा सापट दिएको र पछि मिटर व्याज जोडेर आफूले साँवा र ब्याज रकम तिरिसक्दा समेत थप ८ लाख रुपैयाँको चेक दमकको होटेल हाइवेमा लगेर काट्न लगाएको पीडित अशोक राईले पत्रकार सम्मेलनमा बताएका छन् ।

कुटपिटबाट बिरामी भएकाले घरमै औषधि गरेर बसिरहेको बेलामा तिरिसकेको रकमको समेत चेक बाउन्स गरेर प्रहरी समेतलाई आर्थिक प्रभावमा पारेर राती घरमै नियन्त्रणका लागि आएको राईकी श्रीमती कमला लिम्बूले बताइन् । दमकका पूर्णप्रसाद रिजाल, सोम खनाल, कमल खनाल, दुर्गा पौडेल लगायतले खेलाएको जुवा खालबाट आफूले ३ वर्षभित्रमा ५ करोड भन्दा बढी रकम सकाएको राईले बताए । आफूले यस बीचमा दमकमा रहेको घर डेढ करोडमा विक्री गरेको तथा कनकाई नगरपालिका ३ मा रहेको २ कट्ठा माटो झापा गाउँपालिका ३ मा रहेको १ बिगाहा जमिन समेत विक्री गरेर सबै पैसा जुवामा सकाएको पीडित राईले बताएका छन् ।

सो गिरोहले सुरुमा जति पनि पैसा सापटी दिने र पछि प्रहरी समेतको संलग्नतामा महँगो ब्याज जोडेर चेकमा सही गर्न लगाउने गरेको पाइएको छ । जुवा खेलाउने गिरोहसँग प्रहरीको राम्रो साँठगाँठ समेत रहने गरेको जानकारहरूको भनाई छ । इलाका प्रहरी कार्यालय दमकले आफ्नो क्षेत्राधिकार मिचेर झापा गाउँपालिका ३ सिमलवाडीमा अपहरण शैलीमा बिहान प्रहरी पठाएको राई परिवारको गुनासो रहेको छ । यसबारेमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख दिलीप गिरीले उजुरी दमकमा परेका कारण प्रहरी चेक बाउन्सको पक्राउ पुर्जीको कार्यान्वयन गर्न गएको बताए । प्रहरीले त्यहाँको स्थानीय प्रहरीसँग सञ्चार सेटबाट समन्वय गरेको समेत गिरीले बताए ।

यता झापामा पछिल्लो समय जुवा र मिटर व्याजको गिरोहहरूका कारण सयौँ घरपरिवार बिचल्लीमा परिसकेको भन्दै यस्ता आपराधिक समूहको संरक्षण प्रहरीले गरिरहेको राई परिवारले बताएको छ । ‘मसँग भएको सबै सम्पत्ति पनि सकियो अझै पनि चेक बाउन्स भनेर दुख दिने काम भइरहेको छ यही तरिका हो भने हामी परिवारले नै आत्महत्या गर्नुको विकल्प छैन’, राईले भने । महँगो मिटर ब्याजको रकम उठाउन प्रहरी र गुन्डाको प्रयोग उक्त गिरोहले गर्ने गरेको राईले बताए ।

२०७९ श्रावण ४, बुधबार प्रकाशित 0 Minutes 321 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार