काठमाडौं । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रूपमा मनाइन्छ ।
साउन महीनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भन्ने प्रचलन पनि छ ।
साउनको सोमबार ब्रत बस्दा शिवले मनोकांक्षा पुरा गरिदिने विश्वासका साथ नारीहरु ब्रत बस्ने गर्छन् । साउन महिनालाई हरियो चुरा र मेहन्दीको महिनाका रुपमा पनि हेरिन्छ । महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै सोमबारे ब्रत बस्छन् ।
यो महिनाभर शिवजीका भक्तजनहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् ।
लुतो फाल्ने दिन
असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो ।
अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दो आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।