२०७९ चैत्र १५ बुधबार

बिर्तामोड नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन स्थिति भयावह

फोहोर फ्याँक्ने ठाउँको व्यवस्थापन गर्न नसके साउन महिनादेखि बिर्तामोडवासीले घरको फोहोर घरभित्रै राख्नुपर्ने अवस्था देखिएको छ । अहिले कनकाई नगरपालिकाको वडा नं ८ स्थित विरीङ खोलाको बगरमा फोहोर फ्याल्ने गरिएकोमा असार मसान्तपछि त्यसको सम्झौता सकिदैछ । बिर्तामोड नगरपालिकाले त्यस ठाउँमा फोहोर फ्याल्न एक वर्षका लागि २० लाख रुपैयाँ बुझाएको थियो ।

बिर्तामोडमा फोहोर मैलाको समस्या विकराल रहेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । ‘असारभित्रको सम्झौता मात्र छ, साउनदेखि सम्झौता सकिदैछ’ रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने, ‘ अब कहाँ फोहोर फ्याल्ने भनेर उपाय निस्किएन भने स्थिति भयावह हुनसक्छ ।’ बिर्तामोडबासीहरुले उत्पादन गरिरहेको फोहोर विसर्जन गर्ने दिगो ठाउँ अहिलेसम्म भेटिएको छैन ।

जनप्रतिनिधिहरूको पहिलो पाँच वर्षे कार्यकाल फोहोर फ्याल्ने ठाउँ खोज्दाखोज्दै बित्यो । पाँच वर्षमा नगरपालिका कार्यालयको कम्पाउन्ड , यान्त्रिक कार्यालयको अगाडि ,वडाध्यक्ष अग्नि पाण्डेको चिया बगान , वडा नं ८ को मधुकर गौतमको जमिन ,बिर्तामोड ३ को मुसहरबस्ती , डोमालाल राजवंशी रंगशालाको पश्चिमपट्टिको जमिनलगायत खाली जग्गा ,खोलाखोल्सी , बाटो सबै डम्पिङ साइट बन्यो । विगत एक वर्षदेखि कनकाई नगरपालिका ८ को विरीङ खोलाको बगरमा फोहोर फ्याल्ने काम भइरहेको छ । त्यहाँ फ्याल्न नदिने भएपछि फेरि समस्या देखिने भएको हो ।

फोहोर व्यवस्थापन अब कसरी गर्ने भन्ने विषयमा चरण–चरणमा बहस र छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने बताए । ‘यदि त्यसबाट निष्कर्ष निस्किएन भने स्थिति जटिल बन्न सक्छ’उनले भने । बिर्तामोड नगरपालिकाले फोहोर मैलाको दिगो व्यवस्थापनका लागि कनकाई ८ को कनकाई–बिर्ता– अर्जुन नवीकरणीय वैकल्पिक ऊर्जामा प्रबन्ध गर्न लागेको छ । जसमा नगरपालिकाले १ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । जुन परियोजना तीन महिनापछि निर्माण हुँदैछ ।

बिर्तामोडमा फोहोर मैलाको समस्या ठुलो चुनौतीको रुपमा रहेको वडा नं १ का वडाध्यक्ष अग्नि पाण्डेले बताए । दोस्रो कार्यकालका लागि निर्वाचित पाण्डेले सुरुवातदेखि नै फोहोर मैलाको समस्यासँग आफूहरू जुधिरहेको बताए ।‘तीन महिनापछि समस्या केही हदसम्म समाधान होला ’ उनले भने ,‘तर अब साउनदेखि तीन महिना के गर्ने हो भन्ने समस्या छ ।’

नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बिर्तामोडको फोहोर मैला बिर्तामोडवासीका लागि साझा समस्या भएको बताए । २०७४ सालमा कार्यविधि नै बनाएपनि यो समस्याको समाधान गर्न नसकिएको उनले बताए । खुल्ला जमिन नभएको बिर्तामोडमा फोहोर व्यवस्थापनका लागि स्थानीय जनताले पनि सहयोग नगरेको उनले गुनासो गरे ।आगामी कात्तिक मसान्तसम्म फोहोर मैलाको समस्या हट् नसक्ने उनको भनाई छ । पूर्वकै मुख्य सहरको रुपमा विकसित हुँदै आएको बिर्तामोडमा प्रत्येक दिन १० ट्याक्टर फोहोर सङ्कलन हुने गरेको छ ।

२०७९ असार २६, आईतवार प्रकाशित 0 Minutes 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार