२०७९ चैत्र १६ बिहीबार

झापामा बन्दी जीवन बिताइरहेका भारतीय फोटो पत्रकार चौधरीलाई १ वर्ष कैद सजाय

झापा । खोटा मुद्रा कसुरमा भारतीय फोटो पत्रकार दुर्लभरोय चौधरीलाई १ वर्ष कैद र १५ हजार जरिवाना हुने फैसला सुनाइएको छ । जिल्ला अदालत झापाका न्यायाधीश गिरिराज गौतमको इजलासले चौधरीलाई एक वर्ष कैद र १५ हजार जरिवाना हुने सजाय सुनाएका हुन् ।

गत मङ्सिरदेखि कारागार कार्यालय झापामा बन्दी जीवन बिताइरहेका भारतीय फोटोग्राफर चौधरीलाई झापा जिल्ला अदालतले खोटा मुद्रा बोकेर हिँडेको कसुरमा सजाय तोकेको हो । नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डिया लगायतका मिडियाहरूमा फोटोग्राफरका रुपमा काम गर्ने चौधरी गत वर्षको मङ्सिर २ गते झापाको भद्रपुर विमानस्थलबाट नक्कली अमेरिकी डलरसहित पक्राउ परेका थिए । नेपालमा डकुमेन्ट्री बनाउने प्रयोजनका लागि भारतबाटै अमेरिकी डलरको फोटोकपी बोकेर आउँदा उनलाई प्रहरीले पक्राउ गरेको थियो । चौधरी आफैँले प्रहरीलाई उक्त डलरको फोटोकपी देखाई डकुमेन्ट्रीमा उडाउने प्रयोजन रहेको खुलाए पनि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

दुर्लभले डकुमेन्ट्रीका लागि क्यामेरा, तीन वटा लेन्स र स्क्रिप्टसहित बोकेर आएको भए पनि प्रहरीले बरामद मुचुल्कामा क्यामेरा, लेन्स लगायतको सामान समावेश गरेको थिएन । इन्टरनेटबाट डाउनलोड गरिएको एकै नम्बरको डलरको फोटोकपी लिएर डकुमेन्ट्रीमा उडाउने प्रयोजनका लागि ल्याए पनि अनुमति नलिई ल्याएको कारण उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

गत असार ९ गते न्यायाधीश गिरिराज गौतमको इजलासले चौधरीले नक्कली अमेरिकी डलरको उद्योग गरेको नभई बिना अनुमति ती डलरको फोटोकपी बोकेर आएको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २५७ अनुसार खोटा मुद्रा चलन गर्न नहुने कसुरमा दोषी ठहर गरेका थिए । यद्यपि चौधरीले ती मुद्रा बोकेर मात्रै आएको कारण असार १६ गते सजाय निर्धारणका लागि पेसी तोकेका थिए ।

बिहीबार भएको सजाय निर्धारणमा न्यायाधीश गौतमले एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेका हुन् । साँढे ७ महिना कैद भुक्तान गरिसकेका चौधरी बाँकी कैद भुक्तान गर्ने वा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार प्रतिदिन ५ सय रुपैयाँका दरले जरिवाना तिरी थुनामुक्त हुनका लागि निवेदन समेत दिन सक्नेछन् ।

२०७९ असार १६, बिहीबार प्रकाशित 0 Minutes 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार