दमक÷
बाढी प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनमा तुरुन्तै जुट्न दमकका संयूक्त गठबन्धनका दलहरुले दमक नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।
बिहिबार नगरपाकिलाको कार्यालयमा पुगेर नगर प्रमुख राम कुमार थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिकाले आफनो अगुवाईमा प्राकृतिक प्रकोप उद्धार तथा राहत वितरणको काम सुरु गर्न माग गरिएको छ ।
वर्षाका कारण रतुवा, मावा, दिपिनी जस्ता खोला नालामा आएको बाढीको कारण बस्तीहरूमा पानीको बहाव पसेर नागरिकहरुले सास्ती भोगीरहेको प्रति थप जिम्मेवार भएर उद्धार , राहत तथा व्यवस्थापनको काममा जुट्न नगरपालिकालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
स्थानीय सरकारबाट वर्षाको मौसम सुरु हुनु अघीनै यस सम्बन्धीको पूर्व तयारीहरु गर्नु पर्नेमा त्यसो हुन नसकेको प्रति गुनासो गर्दै तत्कालै यसबारेमा नयाँ निर्णयका साथ अघी बढ्न नगरपाकिलालाई सुझाव दिइएको छ ।
यस्तै बर्षाको समयमा नगरपालिका अन्तर्गत शिक्षा शाखाबाट सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठन गर्ने सूचना तथा कार्यक्रम अघि सारेकोमा पनि गठबन्धन दलहरुले आफुहरुको ध्यानाकर्षण भएको जनाएको छन् । समय सहज नहुन्जेलसम्म समिति गठनको प्रक्रिया स्थगित गर्न माग उनीहरुले माग गरेका छन् ।
उल्लेखित माग प्रति दमक नगरपालिका जिम्मेवार नभए सशक्त रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सो ज्ञापन पत्रमा नेपाली कांग्रेसका कार्यवहाक सभापति यूवराज खनाल (सगर), माओवादी केन्द्रका तर्फबाट अध्यक्ष रवि बस्नेत, राप्रपाका तर्फबाट अध्यक्ष हेम सुवेदी, नेकपा एकिकृत समाजवादीका तर्फबाट अध्यक्ष महेश बस्नेत, जनता समाजवादी पार्टिका तर्फबट अध्यक्ष भेषराज भट्टराईले हस्ताक्षर गर्नु भएको छ ।
यो ज्ञापन पत्र नगरका प्रमुख थापालाई हस्तान्तरण गरिएको छ । उहाँले मागहरु जायज रहेको र यसलाई कार्यान्वायन गर्न कार्यपालिकाको बैठकमा लैजाने र काम अघी बढाइने आश्वाशन दिनु भएको छ ।