२०७९ भाद्र १ बुधबार

झापामा भारी बर्षा ः जतात्यतै जलमग्न,सयौं घर डुबानमा,विस्थापित मन्दिर र बिद्यालयमा आश्रय

झापा ।। लगातारको वर्षाका कारण झापा जलमग्न भएको छ । अविरल वर्षातका कारण झापाका विभिन्न स्थानका २८९ परिवार विस्थापित भएका छन् । उत्तरदक्षिण भएर बग्ने कनकाई, रतुवा, अंदुवाखोला, बनियानी र खोल्सा तथा पैनीमा आएको बाढीका कारण बस्ती डुवानमा पर्दा सो क्षेत्रमा बसोबास गर्नेहरु विस्थापित भएका हुन् । २८९ परिवारका ७७२ जना विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

वर्षातका कारण स्थानीय खोल्सामा पैनीमा आएको बाढीबाट झापाको भद्रपुर नगरपालिका वडा नं. ८ को सुकुम्बासी बस्तिका २६ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नजिकैको उच्च स्थानमा स्थानान्तरण गरिएको छ । त्यस्तै शिवसताक्षी–४ स्थित सुकुम्बासी बस्तिका विस्थापित ३३ परिवारका एकसय १८ जनालाई उद्दार गरी स्थानीय त्रिभुवन माविमा राखिएको छ ।
यसैगरी कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका–१ को सितुमारी, मिलन वस्ती, २ को सिर्जना वस्ती, ३ को नयाँ वस्ती ७ को टप्पु वस्तीका ३५० घरहरुमा पानी पसेको छ


बाढीबाट पीडित भद्रपुरका सुकुम्बासी र गौरादहका लेलिया वस्तीका बाढी पीडित जनताहरु नजिकको उच्च स्थानमा, शिवसताक्षीका स्थानीय त्रिभूव माविमा, गौरीगञ्जका रामजानकी प्रावि र छिमेकीको शरणमा तथा बाह्रदशी गाउँपालिकाका सुकुमबासीहरु दक्षिश्वार मन्दिरमा आश्रय लिएर बसेका छन ।
झिलझिले खोलामा आएको बाढीले झापा शिवसताक्षी –७ लालझोडा स्थित कजवेमा क्षति पुर्याएको हो । कजवेमा क्षति पुगेपछि सवारी साधानको आवगम बन्द भएको छ । लालझोडा स्थित भानु माध्यमिक विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीहरुलाई प्रभावित हुने भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरले जानकारी दिए । उनका अनुसार विद्यालय बसमा आउने झिलझिलेदेखि लालझोडा सम्मका विद्यार्थीहरुलाई समस्या भएको हो ।
त्यस्तै कनकाई नदीकै बाढी बस्तिमा बस्दा गौरीगंज–१ टुनुवस्तीका विस्तापित १२ परिवारलाई रामजानकी प्राविमा राखिएको छ ।


त्यस्तै गौरादह नगरपालिका वडा नं.–६ मा पर्ने लेलिया बस्तीका १२५ परिवार विस्थापित भएका छन् । रतुवा खोलामा आएको बाढीका कारण विस्थापित उनीहरुलाई उच्च स्थानमा सारिएको छ भने गौरगंज गाउँपालिका वडा नं. १ का महाभारा, बालुवाड, देविगडा, टप्पुबस्तीका ३३ परिवार विस्थापित भएका छन् । बनियानी खोला र कनकाई नदीमा आएको बाढीका कारण विस्थापित भएका उनीहरु अहिले छिमेकीको शरणमा बसेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।


यता बाह्रदशी २ स्थित सुकुम्बासीबस्तीका विस्थापित ६० परिवारलाई दक्षिणेश्वर मन्दिरमा सारिएको छ । अंधुवा खोलामा आएको बाढीका कारण बाह्रदशी–२ का ६० परिवारका ३१० जना विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाका बाढीको तथ्याङ्कक संकलन गरिरहनु भएका हरिशरण खड्काले जानकारी दिनुभयो ।
बाढीबाट विस्थापित भएका भद्रपुर ८ का सुकुम्बासीलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखाले राहत स्वरुप १२ थान त्रिपाल उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालले जानकारी दिनुभयो

२०७९ असार १४, मंगलवार प्रकाशित 0 Minutes 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार