
हात्तीको छावालाइ मेची नदिमा लछारपछार !आइतबार राति करिब सयको संख्यामा हात्तीको हञ्जा मेची तरेर बाहुनडाँगी पसेको थियो । रातभरि गाउँमा रैफाडो मच्चाएर बिहानै हात्तीको त्यो हुल फर्कियो । तर, एउटा छावा हुलबाट छुट्यो ।
चिया बगानमा अलमलिरहेको अवस्थामा फेला पारेपछि छावालाई गाउँले घेराबन्दीमा पारेर डोरीले बाँधे अनि भुइँमा लडाए । त्यो बेला छावा बाँधेर लडाएको दृश्य हेर्नेको भीड थामिनसक्नु थियो । ‘करिब एक घन्टा बाँधेर राखेपछि मर्ला कि भन्ने डर भएर छाडिदियौं’, स्थानीय हस्त प्रधानले भने,‘डेढ,दुई घन्टा लगाएर हात्तीलाई मेची तारेर भारततिरै पठायौँ ।’
मेची तार्ने बेलामा स्थानीयले छावालाई लछारपछार गरे । निकै लामो समयको लछारपछारपछि छावालाई मेची तारियो । ‘मेचीमा बाढी आएकाले छावा तार्न समस्या भयो’, स्थानीय सुमन कार्कीले सुनाए । पूर्वोत्तर झापाको यो सीमावर्ती गाउँमा वर्षौंदेखि हात्ती र मानवबीच घम्साघम्सी भइरहन्छ । हात्ती आतंक नियन्त्रणको ठोस कदम कहीँकतैबाट नभएको भन्दै पीडित किसान दुस्खित छन् ।