
तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा.भम्पा राईको निधन भएको छ । झापाको दमकमा बस्दै आएका ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
राई पेट सम्बन्धी समस्याबाट पीडित थिए । पाँच दिन अघि उनको हर्नियाको शल्यक्रिया पनि भएको थियो । शनिबार दिउँसो मुटुको चालमा गडबडी भएपछि सुरुमा दमकस्थित लाइफलाइन अस्पतालमा त्यसपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको थियो । राईको आइतबार किरात संस्कारअनुसार दमकमा अन्त्येष्टि गर्ने तयारी छ ।