जहाँ सर्पकाे टाेकाइबाट एक वर्षमा कसैकाे मृत्यु भएन् ,२४५ काे सफल उपचार
झापा : दक्षिणी झापाको कचनकवलमा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रले एक वर्षमा २४५ जनाको सफल उपचार गराएको छ।
दक्षिणी भेगमा सर्पदंशको उपचार केन्द्र नहुँदा त्यहाँका मानिसले अकालमै ज्यान गुमाउँदै आएका थिए।
स्थानीय तथा विद्यार्थीको दबाबपछि कचनकवल गाउँपालिकाले २०७८ असार ३ गते कचनकवल– ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानी हाताभित्र सर्पदंशको उपचार केन्द्र सञ्चालनमा ल्याएको हो।
केन्द्रले एक वर्षमा १४१ महिला र १०४ पुरुष गरी २४५ जनाको सफल उपचार गराएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले जानकारी दिए।
बर्खा लागेसँगै कचनकवलमा विषालु सर्पको बिगबिगी बढ्छ। जसकारण बर्सेनि यहाँका मानिसले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाउँदै आएको बताउँदै उनले भने, ‘सर्पदंश उपचार केन्द्र स्थापना भएपछि एक वर्षमा कसैले पनि ज्यान गुमाउनु परेन, ६ वटा जटिल केस आउँदा पनि ती बिरामीलाई सफल उपचार गराई घर फर्काएका छौँ।’
केन्द्रमा कचनकवलबासीसहित छिमेकी पालिका भद्रपुर, बाह्रदशी, छिमेकी राष्ट्र भारत विहारका विभिन्न स्थानबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको उनको भनाई छ। यसअघि सर्पदंशका बिरामीहरुलाई मेचीनगरस्थित चाराअली सर्पदंश उपचार केन्द्र लागि लैजानु पर्ने बाध्यता थियो।
यता केन्द्र स्थापना भएको पहिलो वार्षिक उत्सवको अवसरमा शुक्रबार सर्पदंश उपचार सेवा खटिने दुई जना प्राविधिक स्वास्थ्य कर्मचारीलाई सम्मान गरिएको छ।
उपचार सेवामा खटिने हृदयनारायण शाह र मोहम्मद नवाज नुरीलाई सम्मान गरिएको हो।
Copyright © 2023, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा