२०७९ चैत्र १५ बुधबार

झापा कारागार काण्ड – छानबिन समिति गठन, सई जिल्ला तानिए

twitter sharing button

झापा , असार ४ । झापा कारागार चन्द्रगढी तास र रक्सीको अखडा बनेको एक महिला कैदीले खुलासा गरेपछि त्यसको छानबिन गर्न समिति गठन भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । जसको सदस्यहरुमा जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठक र राष्ट्रिय अनुसन्धान कार्यालयका डिएसपी दुर्गा चापागाई रहेका छन् । समितिले भोलिदेखि नै कारागारभित्रको आन्तरिक प्रशासनको बारेमा छानबिन गर्ने संयोजक न्यौपानेले बताए । उनले तीन दिनभित्र छानबिन पूरा गर्ने जानकारी दिए ।

यसैबीच कारागार सुरक्षार्थ खटिएका सई कुमार खड्का जिल्ला प्रहरी कार्यालय तानिएका छन् । कारागारको सुरक्षा दिन नसकेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको हो । उनको ठाउँमा वरिष्ठ सई कुमार ढकाललाई खटाइएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

महिला कारागारमा चौकीदार रिता राईले कारागारभित्रै अवैध कारोबार संचालन गरिरहेको एक महिला कैदीले पत्रमार्फत जानकारी गराएकी थिइन् । पत्रसहितको सो समाचार प्रतिदिन दैनिकले प्रकाशित गरेको थियो । प्रमुख जिल्ला अधिकारीको नाममा उनले सो पत्र पठाएकी हुन् । महिला कारागारभित्र चौकीदार राईले रक्सी , खैनी , सूर्ती , चुरोट ,हुक्का बिक्री गर्ने गरेको र पैसा लिएर तास खेलाउने गरेको उनले पत्रमा उल्लेख गरेकी छिन् । चौकीदार रिता राईसंगै कमला मास्के, सुनिता हस्दा र सिता कट्वालले कारागारभित्र अमानवीय व्यवहार गरिरहेको भन्दै त्यसबाट आफूसहित सबै कैदीहरुलाई छुटकारा दिलाउन उनले आग्रह गरेकी छिन् । महिला कारागारभित्रका कैदीबन्दीहरु तनावमा बाँचिरहेको भन्दै उनले मानव अधिकारवादी र संचारकर्मीसमेतलाई आग्रह गरेकी छिन्

२०७९ असार ४, शनिबार प्रकाशित 0 Minutes 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार