
झापा , झापा कारागार चन्द्रगढी तास र रक्सीको अखडा बनेको एक महिला कैदीले खुलासा गरेकी छिन् ।
महिला कारागारमा चौकीदार रिता राईले कारागारभित्रै अवैध कारोबार संचालन गरिरहेको उनले पत्रमार्फत जानकारी गराएकी हुन् । प्रमुख जिल्ला अधिकारीको नाममा उनले सो पत्र पठाएकी हुन् । महिला कारागारभित्र चौकीदार राईले रक्सी , खैनी , सूर्ती , चुरोट ,हुक्का बिक्री गर्ने गरेको र पैसा लिएर तास खेलाउने गरेको उनले पत्रमा उल्लेख गरेकी छिन् । चौकीदार रिता राईसंगै कमला मास्के, सुनिता हस्दा र सिता कट्वालले कारागारभित्र अमानवीय व्यवहार गरिरहेको भन्दै त्यसबाट आफूसहित सबै कैदीहरुलाई छुटकारा दिलाउन उनले आग्रह गरेकी छिन् । महिला कारागारभित्रका कैदीबन्दीहरु तनावमा बाँचिरहेको भन्दै उनले मानव अधिकारवादी र संचारकर्मीसमेतलाई आग्रह गरेकी छिन् । उनले लेखेको पत्र यस्तो छ ।
श्री सम्माननीय सिडियो साहेब
हामी यहाँ पीडित साथै अवैध कारोबार भएको जानकारी साथै छुटकारा पाऊँ भनी अनुरोध ।
लेडीज कारागारभित्र चौकीदार रिता राई हुनुहुन्छ । तर , यहाँ रक्सी पाउँछ । लुकाएर अति नै महँगोमा बेच्छन् । बाहिर खुकुरी रमलाई कति पर्छ ? यहाँ सानो गिलासले नापेर १५०० मा मा बेच्छन् । अनि बाहिर सिगरेट १० रुपैयाँ पर्छ रे । तर, यहाँ ३५० मा बेच्छन् । पर एउटाको १५ रुपैयाँ । खैनी , हुक्का सबै छ । के मान्छे यहाँ राज्यले कारागारमा राख्नुको अर्थ कानुन उल्लंघन गरेवापत सुधार्नलाई होईन र ? तर यहाँ त मान्छे खुङ्कार अपराधी भएर निस्किन्छ । यही प्रकारले प्रशासनले यो कुरामा नजर नराखेमा … । यहाँ चौकीदारले जे गरेनि हुन्छ । यहाँ बस्ने ३ वटा कोठा छ र ३ नंम्बरमा चौकीदार बस्छन् । त्यहाँ सुतेको ५० हजार लिन्छ र तास खेलाउँछ । ३–४ ठाउँ राखेर एक ठाउँ बराबर दिनभरिको ३०० , राति जतिबेरसम्म खेलून् ३०० । ३०० ᵡ ४ = १२०० दिनभरिको । त्यसैगरी बेलुकीदेखि बिहानसम्म १२०० । त्यसैगरी दोकान उसैको हुन्छ । सारा सामान महँगो छ । फोनमा आएको कलसम्मको पैसा लिन्छन् । विदेशमा कल गरेको ठाउँ अनुसार जति पनि लिन्छन् । इन्डिया–१५ , दुबई –४५ , रोमानिया –६५ , अमेरिका १५ , एन.टी. –५ , कतार– ४५ , साउदी– ४५ । घरगाउँबाट भेटघाटले पाएको हरियो परियो , घरमै फलेका केही सागसब्जी छिराउन दिदैनन् । कारण यहाँको बिक्दैन भनेर ।
यसरी हामी वर्षौ बस्ने कसरी बाँच्न सक्नु ? यहाँ बेला बेला त मात्दै लड्दै कुल्चिदै हिड्छन् । यहाँ कतिको त आफन्त बाहिर छन् । उनीहरुलाई जबरजस्ती पैसा झिकाउन लगाएर महिनामा ५०–६० हजार खर्च गर्न लगाउँछन् चौकीदारले । जाडो गर्मीमा सिग्नेचर गर्न लगाउँछ । तर , ६ महिना पछिकोले मात्र पैसा पाउँछ भन्छन् र सिग्नेचर गर्दा त पैसा पाउनुपर्ने ? संघसस्थाले दिएको सामानहरु पनि प्राय जस्तो चौकीदारले घर लैजान्छ । अस्ति एकजना कमला बोगटी नाम गरेकीले हस्पिटलमा नानी जन्माएकोमा पैसा पाएको थियो अरे । तर , उसको हातमा परेन । आफन्तले बाहिरबाट स्वदेश विदेश उसैको नामबाट झिकाउनु पर्छ । त्यसमा पनि उसको मनोमानी खुशीले पैसा ५००–१०० काट्छ । र , यहाँ सबैभन्दा पनि महँगो , भ्रष्टाचारमा हजुरले नजर लगाइ बक्सियोस् हजुर ।
यहाँ ३ नं कोठामा पहिला सबैको फोन पनि थियो । यो आउनेलाई सोध्दा हुन्छ । उसले बताउँछ । २०७७ माघ २७ गते बिहीबारको दिन त चौकीदार( रिता राई) बाहिरबाट खुट्टै नटेक्ने गरी मातेर आएको थियो । नाइके कमला मास्के र लक्ष्मी राई २ जनाले समातेर पिकेटबाट भित्र ल्याए । बाहिरका पुलिसहरुलाई पनि थाहा छ । रातिको गणनामा बाथरुममा लुकाए र अरु पटक पनि कहिलेकाही बाहिरबाट मातेर आउँछ । भित्र त खाइनैरहन्छ । उसैको हो । भित्रको मानसिक तनाव त छँदैछ तर, सबै जनतालाई भएको अत्याचारमा अति नै ध्यान दिनु होला । म पनि केही केही महिना पछि छुट्छु । हजुरहरुबाट नभए म मानव अधिकार , मिडियामार्फत आउनु नै पर्ने हुन्छ ।
हामी यहाँका जनताले बाहिर प्रशासनमा जेलरलाई भन्न सक्दैनौं । यहाँभित्र यस्तो भयो । यो भएन भनेमा त कुटेर लास बनाउँछन् । यस्तो कुरा बाहिर दिउन् त ज्यान मारेर आएको तर यस जेलको सबैको ज्यान समेत खाइसक्यो । यस्तो कुरा अलिकति पनि फोनमा वा भेटमा बोलेमा कोठामा लगेर कुट्छन् । यो कुरा दुधेको ब्लुचोकमा दोकान गरेर बसेका उप्रेती परिवारका बुहारी आशा उप्रेतीलाई सोध्दा हुन्छ । जेलरलाई केशको बारेमा कल गर्यो भनेर धेरै कुटेका थिए ।
पुलिसबाट नै यस्तो रक्सी , चुरोट , खैनी , हुक्काको सामान छिराउँछन् । यहाँ विशेष गरेर सारै भ्रष्टाचारी खुरापाती समझ भएको १) रिता राई २) कमला मास्के ३) सुनिता हस्दा ४)सिता कट्वाल छन् । यिनीहरुमा मानवता छैन । भित्र दानवको व्यवहार गर्छन् । यहाँका जनतालाई आफ्नो घरगाउँ नजिक जान्छु भन्दा सरुवा जानलाई धेरे पैसा माग्छन् । मेसको खानामा पनि तल्लो स्तरको चामलबाहेक सब्जी खुवाउँछ । लगभग सब्जीमा एक छाकमा ५०० पनि खर्च हुँदैन । अझ भ्रष्टाचार त धेरै छन् । चौकीदारलाई मन नपरेकालाई पिकेटमा बोलाएर उति नै खेर सरुवा फालिदिन्छ । एलिसा वर्देवा गत श्रावण १२ गते इलाम फालिन् । यी सबै कुरामा यस कारागारमा जनता साहै्र पीडित छन् । तर, बोल्नै नहुने । र, यो कुरा पनि सर यहाँभित्र थाहा नपाउन् । यहाँका मान्छे आफूभन्दा अन्धा भएर अरुलाई पनि अन्धा नै ठान्छन् । त्यसैले त अन्धाले अन्धालाई डो¥याउन सक्दैन ।
अनि सिडियो साब अहिले रिता राई चौकीदारले उसको यो असारदेखि १० लाखमा चौकीदार ठाउँ बेच्दैछ । भागमा दुई–दुईलाख कमला मास्के , सिता कट्वाल , सुनिता हस्दा पनि भागिदार अरे । ऊ पछाडि मुख्य नाइके विनु श्रेष्ठ हुनुपर्ने हो जनताको भनाइ चाहिँ ।
उनले पठाएको पत्रको हेन्डराइटिङबाट उनलाई हुनसक्ने असुरक्षालाई ध्यान दिँदै सो पत्रलाई नबुझिने गरी प्रस्तुत गरेका छौं ।



