
झापा ।। यस वर्ष मनसुन चाँडै सुरु भएपछि झापाका किसानलाई असार सुरु हुने बित्तिकै धान रोपाइँको चटारो परेको छ ।
अन्नभण्डारको जिल्ला मानिएको झापाका सबै क्षेत्रमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।
धानखेतीका लागि नभई नहुने रासायनिक मल अभाव खेपिरहे पनि खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । “पानी परेर खेतका गरा भरिएपछि मन थाम्न सकिएन, मल कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ”, झापाको गौरीगंज २ मा खेतमा रोपाइँ गरिरहेका किसान रामहरी यादवले बताए ।
विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस बर्ष पानी अगाडी देखि नै परेकाले रोपाइ छिटै सकिने रोशन यादव बताउँछन् ।
कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्था भएका कतिपय किसानहरूले यस वर्ष आकाशे पानीले नै असार नलाग्दै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् ।
कमल ३ का किसान रमेस नेपाल भन्छन , “खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति छैन, यस्तो अवस्थामा पनि धान रोप्नै प¥यो, मल नपाए यस वर्ष उत्पादन घट्छ ।”
समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्ने आशामा बसेका किसान मल नभए धानको उत्पादन आधा घट्नेमा चिन्ता व्यक्त गर्छन् ।विगतका वर्षमा जस्तै पानी ढिला पर्ला भनेर ढिला धानको बीउ राख्ने किसानहरुपनि पानी पर्न थालेपछी रोपाइँमा जुटेका हुन ।
झापामा कृषियोग्य जमिनमध्ये ८८ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले हाल जिल्लामा नौ हजार मेट्रिक टन डिएपी मल आवश्यक रहेको बताए।
उनले भने, “रोपाइँ सुरु भइसक्यो, यही बेला किसानलाई डिएपी मल चाहिएको छ । झापाका लागि तोकिएको मात्राले त एउटा पालिकालाई पनि पुग्दैन ।
किसानले यस वर्ष धान रोपाइँ छिटो भएकामा खुसी लागे पनि मल नपाउँदा दुःख लागेको भन्दै सरकारलाई जतिसक्दो छिटो मल उपलब्ध गराइदिन किसानले माग गरेका छन् ।