ज्यामिरगढी–भद्रपुरको ड्रेनमा कमसल मारुती सिमेन्ट प्रयोग, बनाइनसक्दै भत्कियो

खगेन्द्र खरो

झापा ।

ज्यामिरगढी । झापाको धुलाबारी हुँदै ज्यामिरगढी–भद्रपुर तथा धुलाबारी–इरौँटार सडकखण्डको ड्रेन सहितको कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ ।

दुई चरणमा हुने कालोपत्रको पहिलो चरणमा हाल ज्यामिरगढी–भद्रपुर सडक खण्डको कामले तीब्रता पाएको छ । करिब २२ करोड रुपैयाँको लागतमा पहिलो चरणमा ८ किलोमिटरको काम हँुदै गर्दा डे«न निर्माणमा विबाद भएको छ । धुलाबारी–भद्रपुर सडकखण्ड हिम्डुङ एन्ड थोकर सरोज जेभीले ठेक्का लिएको छ ।

सो निर्माणको जिम्मा लिएको कम्पनीले ड्रेन निर्माणमा कमसल (गुणस्तरहीन) मारुती सिमेन्ट प्रयोग गरेको भन्दै आलोचना सुरु भएको छ । निर्माण भएको २५ मिटर डे«न २४ घण्टा बित्दा समेत सेट नभएर उप्किएको छ । त्यस लगत्तै स्थानीय उपभोक्ताहरुले त्यसको बिरोध गरेका छन् ।

यसरी कमसल सिमेन्ट प्रयोग भएको थाहा पाएपछि कम्पनीले भोलिपल्टै बनाएको डे«न भत्काएको थियो । बिकास निर्माणमा करोडौँ रुपैयाँ ठेक्का लिएर कमसल सिमेन्ट प्रयोग गर्ने कम्पनीको ज्यामिरगढी क्षेत्रमा आलोचना सुरु भएको छ । यसरी बिकास निर्माणमा किन कमसल सिमेन्ट प्रयोग भयो भन्ने बिषयमा छड्के अनुसन्धानले निर्माण कम्पनीका ठेकेदार प्रमानन्द भट्टराईलाई दजनौँ पटक फोन सम्पर्क गरेपछि उनको फोन उठाएका थिए । हाम्रो प्रश्नमा उनले यसअघि गोरखकाली, ओपिसी, अल्ट्रा जस्ता सिमेन्टको प्रयोग गर्दै आएको र पछिल्लो पटक मारुती नाम गरेको सिमेन्ट राम्रो भनेर प्रयोग गर्दा नराम्रो परिणाम आएको बताए ।

विश्वासको आधारमा चारसय बोरा सिमेन्ट माग गरिएको भए पनि कमसल सिमेन्ट पठाएर आफुहरुलाई उद्योगले झुक्काएको बताए । उपभोक्ताले निर्माण कम्पनीलाई जान्दछन्, तपाईप्रति शंका उत्पन्न भएको छ भन्ने प्रश्नमा उनले आफ्नो त्यस्तो नियत नरहेको भन्दै उद्योगसँग यस बिषयमा जानकारी गराइसकेको बताए । आफुले डे«न निर्माण भएको भोलिपल्टै सेट नभएपछि तत्काल सो सिमेन्ट रोक्न आदेश दिएको उनले बताए ।

प्रतिबोरा ८ सय रुपैयाँ पर्ने मारुती सिमेन्ट हेटौँडाबाट बजारमा आएको छ । सो डे«नमा कमसल सिमेन्ट प्रयोग भएको पाइएपछि सिमेन्टको ल्याव परीक्षणका लागि पठाइसकिएको छ । ज्यामिरगढी सडकखण्डमा निर्माण कम्पनीले यस निर्माणका लागि विभिन्न ५ बढी समूहलाई पेटी ठेक्का दिएर काम लगाउँदै आएको छ ।

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले शिलान्यास गरेको यस सडक झापाको सदरमुकाम भद्रपुरसँग जोडिन्छ । यो सडक सञ्जालले झापा तथा इलामलाई जोड्दछ । सरकारको बहुप्रतिक्षित सडकको रुपमा यसलाई लिइएको छ ।

झापा सदरमुकाम भद्रपुरसँग जोडिने यस सडक निर्माणमा छुटिएको करोडौँ रकमबाट यस प्रकारको काम हुने हो भने विकास निर्माणमा भएका योजनाहरु कति समय टिक्छन्, सहजै अनुमान गर्न सकिन्छ । २०७९ साल असार ३१ गते सम्ममा निर्माण सम्पन्न गर्ने सहमति रहेको सो सडकको हाल ड्रेन निर्माणमै विबाद आउँदा अब कालोपत्र गर्दा समेत निगरानी बढाउनु पर्ने देखिन्छ ।

सिमेन्ट उद्योगले ठेकेदारलाई झुक्काएर कमसल सिमेन्ट पठाएको होस् वा ठेकेदारसँगको सहकार्यमा यस्तो सिमेन्ट प्रयोग गरेको होस्, अनुगमन निकायले यस बिषयमा चासो देखाउनु पर्छ । ड्रेन निर्माण उपभोक्ता अनुगमन समितिका संयोजक पदम गौतमले सिमेन्टै कारणले गर्दा डे«न भत्किएकाले गुणस्तरहीन भएको पाइएको बताए । उनले विकास निर्माणम भइरहेको अनियमितताको पराकाष्ठ भएको र यो विषयमा छानविन गर्नुपर्ने बताए । यदि कमजोरी देखिए कारवाही गर्नुपर्ने अनुगमन समितिको निष्कर्ष रहेको छ ।

कमसल सामाग्री प्रयोग भएपछि अनुगमन समितिको बैठक वडा कार्यालय मेचीनगर १५ सँग बसेर अघि बढ्ने बताइएको छ । यस विषयमा बुझ्न खोज्दा मारुती सिमेन्टका पूर्वी क्षेत्रका मार्केटिङ ज्योतिसँग बारम्बार फोन सम्पर्क गर्दा उनले फोन रिसिफ गरेनन् ।