काेराेना मा खटिएका संयाेजकलाइ नै कोरोना संक्रमण

काकरभिट्टा, असोज २४ ।
मेचीनगर नगरपालिकाका सामाजिक बिकास समिति संयोजक नविन बराललाई कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर वडा नं. ४ का वडा अध्यक्ष समेत रहनु भएका बराल सहित आज मेचीनगरमा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

नगरपालिकाका तर्फबाट कोरोना संक्रमितको ब्यवस्थापन, आइशोलेशन तथा क्वारेन्टाईन ब्यवस्थापन लगायतका कामको नेतृत्व गरिरहनु भएका बराललाई कोरोना पुष्टी भएको हो ।

बिगत ६ महिना देखि कोरोना संक्रमितहरुको ब्यवस्थापनमा मुख्य भुमिका निर्वाह गर्दै आउनु भएका बरालले संक्रमितहरुकै ब्यवस्थापनका क्रममा आफुलाई कोरोनाको संक्रमण भएको हुन सक्र्ने  बताउनु भयो ।

सेतोपत्रसंग कुराकानी गर्दै बरालले भन्नु भयो,‘रुघा मर्की र सामान्य ज्वरो आए पछि केही दिन नै म होम आइसोलेशनमा बसेको छु, मेरो अवस्था सामान्य छ ।’

बरालले बिगत एक हप्ता भित्र आफुसंग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न समेत आग्रह गर्नु भएको छ ।
संक्रमण पुष्टी भए पनि होम आइसोलेशनबाट नै भए पनि टेलिफोन र इन्टरनेटको माध्यमको प्रयोग गरेर कोरोना संक्रमित तथा आइसोलेशन र क्वारेन्टाईन ब्यवस्थापनको कार्य सम्पादन आफुले गरिरहने बरालले बताउनु भयो ।

आज थपिएका संक्रमितहरुमा मेचीनगर ७ का ३ जना, मेचीनगर ४ का १ जना, वडा नंं २ को १ जना र वडा नं. १५ को एक जना रहेको मेचीनगर नगरपालिकाले जनाएको छ । आज थपिएका ७ सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १६७ पुगेको छ ।