मुस्लिम धर्मालम्बीको पर्व बकर इद आज, घरमै बसेर नमाज पढी मनाउन मुस्लिम आयोगको आग्रह

काठमाडौं, १७ साउन । मुस्लिम धर्मालम्बीहरुले आज बकर इद अर्थात् इदजोहा पर्व मनाउदैछन् । इदपछिको ठूलो पर्व बकरिदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन् ।

यस अवसरमा कतिपयले आफ्नो सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिनामा गरेर यो पर्व मनाउने गर्छन् । जसलाई हज भनिन्छ ।

यो पर्व तराईको मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहालगायतका जिल्लामा धुमधामका साथ मनाउने गरिन्छ । तर यस वर्ष कोरोना महामारीका कारण इस्लाम धर्मालब्बीहरुले घरमै बसेर नमाज पढी मनाउदैछ ।

इदुलफित्रको ठीक ७०औँ दिनमा मनाइने गरिएको यस पर्वमा मुसलमानले पूर्णरुपले चोखो भएर इदगाह वा मस्जिदमा गएर नवाज पढ्ने चलन छ । त्यसपछि, एकापसमा आलिङ्गन गरेर भातृत्वको सन्देश प्रवाह गर्छन् ।

यस पर्वको मुख्य उद्देश्य कुरवानी भएकाले खसी, भैँसी र बाँझो पाठीलाई बलिदानी दिने गर्छन् ।
मुस्लिम धर्मग्रन्थअनुसार, अल्लाहका इब्राहिम अलि सलामले ८० वर्षको उमेरमा आफ्नी पत्नी हाजराको गर्भबाट जन्मिएको छोरा इस्माइल अलि सलामलाई अल्लाहको आदेशमा कुरवानी दिन गएका थिए ।

तर, अल्लाहले इब्राहिम अलि सलामको यो कदमबाट निकै प्रसन्न भएर उनको कुरवानी स्वीकार गरी छोरा इस्माइलको ठाउँमा भेँडाको कुरवानी लिएको थियो । सोही दिनदेखि इब्राहिमको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको हो ।

यस पर्वमा कुरवानी दिएको जनावरको मासुको तीन भाग लगाइन्छ । एक भाग आफ्ना लागि, एक भाग इष्टमित्र र एक भाग गरिब दीनदुःखीबीच बाँड्नुपर्ने नियम रहेको छ । यो पर्व तीन दिन मनाइने गरिन्छ ।

यसैबीच, कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गर्नुभएको हो ।

इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख गर्दै आयोगले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यस पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गरेका हो ।

कोरोनाका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविकदेखि नै दैनिकरूपमा मस्जिदमा पाँच जनाले मात्रै नमाज पढ्दै आएका छन् । इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ । आयोगले कोरोना भाइरस नियन्त्रणका लागि मुस्लिम समुदायले देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ ।
यसैबीच राष्ट्पति प्रधानमन्त्री, संघिय संसदका सभामुखतथा बिभिन्न राजनितीक दलका नेताहरुले पनि बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।