सिसाकलमले घोटी घोटी इरेजरको कविता लेखौं

 

कविता

यस्तो कविता लेखौं
सपनाको अनुसन्धानमा हिड्दै गर्दा
निदाएको मान्छेको कविता लेखौं ।
यस्तो कविता लेखौं,

 

पुस्तकबाट अक्षरहरू भागेका
नदिहरू बलात्कार भएका
क्रान्तिका सिउँदोहरूमा वेदनाका दुबो पलाएका
आगोका ज्वालाहरूले,
हरिया पप्लेट बोकेर नारा लगाइरहेका
खुशीहरूका गह्रौ धातुमा खिया लागेका
यस्तो कविता लेखौं,

 

कानुनका लिङ्गहरू काटिएका
न्यायका पाठेघरहरूमा ऐझेरु पलाएका
सालिकहरू लजाएका घडीका सुइहरू गलेका
अँध्याराहरूले अँध्यारो बालेका
यस्तो कविता लेखौं,

 

क्यानभासहरूले चित्रकारलाई नटेरेका
जिब्रोसँग स्वादहरू रिसाएका
छेपाराहरूले बस्ती बसाएका
पानी स्वयं भिज्न नसकेको
हिमालहरू रोइरहेका
भौतिकवादको करेसामा,
धार्मिक ग्रन्थहरूले सब्जी फलाएका
त्यतिले पनि, समेटेनभने भाव(
देखिएनभने अलङ्कार कमजोर
भएभने बिम्बप्रतिबिम्बहरू,

 

यस्तो कविता लेखौं,
सिसाकलमले घोटी घोटी,
इलेजरको कविता लेखौं ।

लेखक ,विष्णु उपरकोटी