सांसदको प्रश्नः मल, बीउ नपाएर किसानले कहिलेसम्म रुनुपर्ने हो ?

मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बीउ नपाएर किसान छट्पटिएकाले तत्काल मल र बीउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गरे ।

उनीहरुले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदानलाई नभुल्न सरकारको ध्यानाकर्षण गराउँदै देशव्यापी रुपमा देखिएको मल तथा बीउको अभावको समस्या समाधान गर्न माग गरेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका- २ एक्लेखेतमा रोपाइँका लागि ट्र्याक्टरबाट खेत जोत्दै । छिटो र सजिलो हुने भएकाले गोरुको विकल्पमा ट्र्याक्टरको प्रयोग बढदो छ । तस्वीरः कृष्ण न्यौपाने

सांसद लक्ष्मीकुमारी चौधरीले प्रश्न गरिन्, “मल बीउ नपाएर किसानले कहिलेसम्म रुनु पर्ने हो ?” सांसद भरकुमार शाहले किसान धमाधाम बर्खेखेती लगाउन व्यस्त रहेका अवस्थामा रासायनिक मलको चरम अभाव भएको बताए । सांसद राजेन्द्रकुमार राईले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरे ।