भद्रपुरको सडकमा एक महिनाको छोरा फालेर आमा वेपत्ता

भद्रपुर । भद्रपुरमा नवजात शिशु वेवारिसे अवस्थामा भेटिएको छ ।  भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोकमा नवजात शिशु जिवितै अवस्थामा भेटिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बुधवार राती बीच सडकबाटै शिशुलाई उद्धार गरेको हो । अन्दाजी एक महिनाको छोरा शिशुलाई मेची अञ्चल अस्पताल भद्रपुरमा राखिएको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।
शिशुलाई कसले लगेर छाडेको भन्ने अहिलेसम्म केही नखुलेको र यस बिषयमा अनुसंन्धान भइरहेको उनले बताए । बच्चा भेटिएको स्थान नजिकैका स्थानीयबासीलाई सोधपुछ गर्दा हालसाल कसैले त्यस क्षेत्रमा बच्चा नजन्माएको जानकारी प्राप्त भएको उनको भनाई । यता कसैले नवजात शिशुलाई जिम्मा लिए जिल्ला बालकल्याण समिति झापाको रोहवरमा दिइने जनाइएको छ ।